रिब्दीकोटको जलेश्वरमा दुई दिने वेदान्त सम्मेलन हुँदै

पाल्पा । रिब्दीकोट ५ मा रहेको जलेश्वर धाममा सामाजिक विभेद अन्त्यका लागि दुई दिने वेदान्त सम्मेलन आयोजना हुने भएको छ । जलेश्वर मन्दिर व्यवस्थापन समितिले तानसेनमा शुक्रबार पत्रकार सम्मेलन गरी मंसिर १३ र १४ गते सम्मेलन गर्न लागेको जानकारी गराइएको हो ।

जलेश्वर मन्दिर व्यवस्थापन समिति र रिब्दीकोट गाउँपालिका परिवारको संयुक्त आयोजना तथा विश्वहिन्दु महासंघ पाल्पाको सहकार्यमा सम्मेलन हुन लागेको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । उहाँले सोही अवसरमा देव मूर्ति प्राणप्रतिष्ठा तथा नवनिर्मित १०८ गौमुखी धारा, १०८ शिवलिङ्ग, गौशाला तथा अखण्ड अग्निशाला धुनि घरको उद्घाटनसमेत गरिने बताउनुभयो । पछिल्लो समय गाउँपालिकाले जलेश्वर धामलाई एक धार्मिक पर्यटकीय गन्तव्य निर्माणका लागि विभिन्न रचनात्मक काममा सघाउदै आएको अध्यक्ष कार्कीले बताउनुभयो ।

कार्यक्रममा पण्डितराज भीमलाल भट्टराईले दण्ड सजायले मात्र सामाजिक विभेदको पूर्ण अन्त्य नुहने बताउदै यसका लागि मानिसको भित्री चेतना र दृष्टिकोण बदलिनुपर्ने बताउनुभयो । उहाँले धर्मको आडमा हुने जातीय छुवाछूत, लैङ्गिक विभेद र सामाजिक असमानतालाई शास्त्रकै वास्तविक प्रमाणबाट खण्डन गरी समतामूलक समाज निर्माण मद्दत गर्ने बताउनुभयो ।

सम्मेलन हरिद्वारका श्री १००८ वरिष्ठ महामण्डलेश्वर स्वामी दिव्यानन्द गिरी जि महाराजको प्रमुख आतिथ्यता र देश तथा विदेशका अनेकौँ सन्त, महन्त, विद्वान् तथा विदुषीहरूबाट सनातन मूल धर्मको मर्म र दर्शनबारे विशेष प्रवचन एवं व्याख्या गर्ने पण्डितराज भट्टराईको भनाइ छ ।
यस ऐतिहासिक तथा आध्यात्मिक अवसरमा सम्पूर्ण धर्मप्रेमी भक्तजनहरूलाई उपस्थितका लागि समितिका अध्यक्ष वेणिमाधव आचार्यले अनुरोध गर्नुभएको छ । साथै उहाँले सनातन धर्मको ज्ञान श्रवण गरी पुण्य लाभ लिनसमेत अनुरोध गर्नुभएको छ ।

सम्बन्धित खवर