खेलमैदानदेखि होटल पाैवा पाल्पाकाे नेतृत्वसम्म सन्जुको संघर्ष

पाल्पा । नेपाली समाजमा अझै पनि महिलालाई चुलोचौको र घरपरिवारको सीमित घेराभित्र मात्र हेर्ने पुरातनवादी सोच पूर्ण रूपमा हटिसकेको छैन । विवाहपछि त झन् महिलाका व्यक्तिगत सपना, करिअर र इच्छाहरू ओझेलमा पर्छन् भन्ने आमधारणा छ । तर, यही परम्परागत भाष्यलाई गलत साबित गर्दै साहस, संघर्ष र अटल इच्छाशक्तिको बलमा आफूलाई अब्बल प्रमाणित गर्नुभएको छ तानसेन १ की सन्जु कार्कीले । होटल पौवाका देशभर रहेका २० वटा शाखामध्ये एक्लो महिला शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै उहाँले नारी शक्ति र नेतृत्वको एउटा उदाहरण प्रस्तुत गर्नुभएको छ ।

२०५४ साल जेठ ७ गते जन्मनुभएकी सन्जुको बाल्यकाल र किशोरावस्था खेलकुदमा बित्यो । सानैदेखि निडर र जुझारु स्वभावकी उहाँ आइटिएफ तेक्वान्दोकी एक अब्बल खेलाडी हुनुहुन्थ्यो । खेलप्रतिको अथाह लगाव र कठोर परिश्रमकै कारण उहाँले तेस्रो डनसम्मको उपाधि हासिल गरी राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा समेत सहभागी हुनुभएको थियो । नेपालको खेलकुद क्षेत्रमा व्यावसायिकताको अभाव र खेलबाटै जीवन गुजारा चलाउन कठिन हुने अवस्था सिर्जना भएपछि सन्जुको जीवनमा नयाँ मोड आयो । परिवारको आर्थिक जिम्मेवारी र भविष्यप्रतिको चिन्ताले उहाँलाई खेलमैदान छाडेर रोजगारीको खोजीमा निस्कन बाध्य बनायो ।

चार दिदीबहिनीहरूको हिम्मतको आधारस्तम्भ र आमा–बुबाको मुख्य सहारा बनेकी सन्जुका लागि परिवारलाई बलियो बनाउनु पहिलो प्राथमिकता थियो । यही क्रममा उहाँले आर्थिक उपार्जनका लागि होटल पौवा, पाल्पामा लेखापाल पदबाट आफ्नो व्यावसायिक यात्रा सुरु गर्नुभयो । खेलकुद क्षेत्रबाट एकाएक आतिथ्य क्षेत्रमा प्रवेश गर्नु उहाँका लागि पक्कै पनि सहज थिएन । तर, खेलाडी जीवनले सिकाएको अनुशासन, धैर्यता र हार नमान्ने बानीले सफल बनायो । लेखापालको सामान्य जिम्मेवारीबाट सुरु भएको उहाँको रोजगारीको यात्रा अहिले हाेटल पाैवा पाल्पा शाखाको निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्न सफल हुनुभएको छ ।

समयको गतिसँगै सन्जुको जीवनमा वैवाहिक बन्धन बाँधियो । नेपाली समाजमा विवाहपछि महिलालाई घरपरिवार र जागिरको सन्तुलन मिलाउन निकै कठिन मानिन्छ । तर, सन्जुले घरको जिम्मेवारी र कार्यालयको कार्यबोझलाई सहज रुपमा व्यवस्थापन गर्नुभएको छ । उहाँ यो सफलताको पछाडि श्रीमान् र घरपरिवारको अटुट साथ, विश्वास र सहयोगले महत्वपूर्ण भूमिका रहेको बताउनुहुन्छ । परिवारको हौसला पाएपछि महिलाले जस्तोसुकै उचाइ चुम्न सक्छन् भन्ने कुरा सन्जुको जीवनले पुष्टि गरेको छ ।

भर्खरै होटल पौवाका २० शाखामध्ये एकमात्र महिला प्रमुखका रूपमा उभिएर उहाँले संस्थाको भविष्यको बलियो आधारशीला निर्माण गर्न सफल हुनुभएको छ । कठिनाइलाई अवसरमा बदल्ने उहाँको क्षमताले होटलका अन्य कर्मचारीहरूलाई समेत उत्प्रेरणा र उत्साह थपेको छ ।

(मिति २०८३ मंसिर १० गते करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)

सम्बन्धित खवर