
पाल्पा । बाह्रौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा पाल्पामा दुई उत्कृष्ट उद्यमीलाई सम्मान गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय, पाल्पाको आयोजनामा भएको सम्मान कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा उद्योग मन्त्री भण्डारीलाल अहिरले उद्यमीलाई नगदसहित सम्मान गर्नुभएको हो ।
सम्मानित हुनेहरूमा पौड्याल ढाका उद्योग, तानसेन–४ का मनोजराज शर्मा पौड्याल र कृष्ण उन्नत भैँसी विकास बीउबिजन उत्पादन स्रोत केन्द्र, रामपुर–६ का कृष्णकुमार अर्याल रहनुभएको छ । कार्यालयले प्रकाशन गरेको सूचनाबमोजिम प्राप्त निवेदनहरूमाथि मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा छनोट भएका उद्यमीलाई सम्मान गर्दै मन्त्री अहिरले उद्यमीहरूको प्रोत्साहनका लागि सम्मान कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले पछिल्लो समय उद्योग विकासका लागि प्रदेश सरकारले आवश्यक काम गर्दै आएको बताउनुभयो । यसका साथै मन्त्री अहिरले उद्यमी र मन्त्रालय मातहतका कार्यालयहरूका समस्या समाधानको उचित सम्बोधनका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेशसभा सदस्य खेमबहादुर सारुले देशको आर्थिक विकास, रोजगारी सिर्जना, उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा घरेलु तथा साना उद्योगहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले उद्योग व्यवसाय सञ्चालनको सहजताका लागि लुम्बिनी प्रदेश सरकारले आवश्यक सहजीकरण र सहयोगका कार्यक्रमहरू गरिरहेको समेत बताउनुभयो ।
लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानाले सम्मानित उद्यमीहरूलाई शुभकामना व्यक्त गर्दै दिवसहरू औपचारिकतामा सीमित हुन नहुने बताउनुभयो । उहाँले दिवसलाई सङ्कल्पका रूपमा मनाउनुपर्ने बताउँदै हरेक कार्यक्रम उपलब्धिकेन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
जिल्लाका राजनीतिक दल, उद्योग व्यवसायी र सरोकारवालाहरूको सहभागितामा भएको कार्यक्रममा कार्यालय प्रमुख वरिष्ठ उद्योग अधिकृत केशव सुनारले जिल्लामा उद्योग दर्ता तथा सञ्चालनको अवस्था, सम्भावना, चुनौतीका साथै समाधानका विषयमा जानकारी गराउनुभएको छ । सहभागीहरूले पाल्पा उद्योग, व्यवसायका लागि सम्भावना रहेको जिल्ला भएकोले सम्बन्धित निकायहरूले आवश्यक सहजीकरण गर्नुपर्ने बताएका थिए । उनीहरूले भएका उद्योगको प्रभावकारी सञ्चालन र नयाँ खोल्ने वातावरण निर्माणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएको उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिनुभयो ।







