
पाल्पा । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाको माग गर्दै देशव्यापी रूपमा चलिरहेको नेपाल पत्रकार महासंघ केन्द्रीय आन्दोलनअन्तर्गत पाल्पाका पत्रकारहरुले पनि सामूहिक गिरफ्तारीको माग गरेका छन् ।
महासंघले गरेको सकुर्लरमा रहेका कार्यक्रम अनुसार बुधबार नेपाल पत्रकार महासंघ पाल्पा शाखाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय पाल्पा अगाडि प्लेकार्डसहित प्रदर्शन गर्दै पाल्पाली पत्रकारहरुले सामूहिक गिरफ्तारीको आग्रह गरेका हुन ।
कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्मा, निर्वतमान अध्यक्ष रेखीराम रना, सल्लाहकार कृष्ण दर्नालसहित जिल्लामा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले पत्रकारहरूले उठाएका मागहरू तत्काल सम्बोधन गर्न र समाचार लेखेकै आधारमा पत्रकारमाथि धरपकड तथा गिरफ्तारी नगर्न आग्रह गर्नुभयो । उहाँले आन्दोलनका मागहरू बेवास्ता गरिए अझ कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिनुभयो ।
सरकारले मिडिया हाउसको गेटमा गाडी तेर्साएर राख्ने, मिडिया माथिको धरपकड गर्ने, बिना कारण पत्रकारलाई गिरफ्तार गर्ने, लोककल्याणकारी विज्ञापनको रकम कटौती, श्रमजीवी पत्रकारको निस्कासन तथा मिडियामाथि गरिएको आर्थिक नाकाबन्दीको विरोधमा सामूहिक गिरफ्तारीको माग गर्दै धर्ना कार्यक्रम गरिएको महासंघका सचिव रामचन्द्र रायमाझीले बताउनुभयो । पछिल्लो समय पत्रकारहरुको हकहितका लागि देशभर विभिन्न रचनात्मक विरोध कार्यक्रम भैरहेका छन् । पत्रकारहरूले भयरहित वातावरणमा स्वतन्त्र रूपमा समाचार संकलन, लेखन, प्रकाशन र प्रसारण गर्न पाउने संवैधानिक तथा पेशागत अधिकारको सुनिश्चितता गर्न सरकारसँग जोडदार माग गर्दै आएका छन् ।







