‘समयको ऐनामा पालुङ्गमैनादी’ पुस्तक विमोचन

पाल्पा । रिब्दीकोट गाउँपालिका–७, पालुङमैनादीको ऐतिहासिक, सामाजिक र विकासात्मक गतिविधि समेटिएको ‘समयको ऐनामा पालुङ्गमैनादी’ नामक पुस्तकको औपचारिक विमोचन गरिएको छ । रिब्दीकोट–७ मा आयोजित एक विशेष समारोहका बिच कृति सार्वजनिक गरिएको हो ।

विमोचन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले पुस्तकले वडाको ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा विकासात्मक अवस्थालाई दस्तावेजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पालुङमैनादीको विगतदेखि वर्तमानसम्मको विकास यात्रा, स्थानीय इतिहास र मौलिक पहिचानलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न यसले मद्दत गर्ने बताउनुभयो । आगामी दिनमा विकासका नयाँ सम्भावना पहिचान गर्न यो कृति कोसेढुङ्गा सावित हुने अध्यक्ष कार्कीको भनाइ थियो ।

कार्यक्रमका रिब्दीकोट ७ का वडाध्यक्ष दानबहादुर कुँवर क्षेत्रीले पुस्तकले वडाको विगतको समीक्षा, वर्तमानको यथार्थ अवस्था र भविष्यको विकास संकल्पलाई एकैसाथ समेटेको बताउनुभयो । प्रकाशित कृतिले पालुङ्गमैनादीको गौरवपूर्ण इतिहास, संस्कृति र सभ्यतालाई उजागर गर्नुका साथै आगामी दिनमा स्थानीय योजना निर्माण र विकासका नयाँ आधार तय गर्न स्पष्ट मार्गनिर्देश गर्ने उहाँको भनाइ थियो ।

सार्वजनिक गरिएको कृतिमा वडाको इतिहास, संस्कृति, परम्परा र वर्तमान अवस्थाका विविध पक्षलाई समेटिएको छ । विशेषगरी आर्थिक वर्ष २०७९/०८० देखि हालसम्म वडामा विनियोजित विकास बजेटको विस्तृत विवरण तथा विभिन्न क्षेत्रका ६७ जना लेखकहरूका महत्वपूर्ण लेखरचनाहरू पुस्तकमा संग्रहित छन् ।

विमोचन समारोहमा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शिशिर खनाल, वडाध्यक्षहरू चिरञ्जीवी पोखरेल र सोमकुमार कार्की, पूर्वगाउँपालिका अध्यक्ष नारायणबहादुर जिसी, ग्रामीण आर्थिक विकास संघ (रेडा)का कार्यकारी निर्देशक लीलाबहादुर कार्की, कृतिका प्रधानसम्पादक राम ज्ञवाली तथा पुस्तकका समीक्षक रामप्रसाद अर्याललगायत दर्जनभन्दा बढी अतिथिहरूले पुस्तकको सान्दर्भिकता र महत्वमाथि आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रमकै अवसरमा स्थानीय विकास तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउने पूर्वजनप्रतिनिधिहरू तथा विभिन्न क्षेत्रका अग्रज व्यक्तित्वहरूलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

सम्बन्धित खवर