कात्तिकमा पाल्पा प्रहरीको प्रगति

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले चालु आर्थिक वर्ष २०८३/०८४ को कात्तिक महिनाको कार्यसम्पादन प्रगति सार्वजनिक गरेको छ । कात्तिक महिनामा जिल्लाभर कुल १५ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् । जसमध्ये ६ वटाको फछ्यौट भइसकेको छ भने ९ वटा बाँकी रहेको छ । गत महिना झुण्डी मृत्यु भएको ज्यानसम्बन्धी ५ वटा मुद्दा दर्ता भएको छ भने चोरी, चन्दा, अभद्र व्यवहार गर्न नहुने , सवारी भवितव्य ज्यान, आगो लगाई आत्महत्या ज्यान, भवितव्य ज्यान र फुटकर ज्यानसम्बन्धी १÷१ वटा मुद्दा दर्ता भएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो ।

यस्तै, चालु मुद्दाका ७ जना पुरुष प्रतिवादी पक्राउ परेका छन् भने अदालतबाट फैसला भई फरार रहेका ४ जना प्रतिवादीलाई पक्राउ गरी २४ हजार रुपैयाँ जरिवाना तथा १ वर्ष १ महिना ७ दिन कैद भुक्तानका लागि बुझाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

महिला तथा ज्येष्ठ नागरिकतर्फ घरेलु हिंसाका ५ वटा ठाडो उजुरी परेका छन्, जसमा बगनासकाली गाउँपालिकाका ३, तानसेन नगरपालिकाका १ र निस्दी गाउँपालिकाका १ वटा उजुरी रहेका छन् । हराएका ११ जनामध्ये ५ महिला, २ पुरुष, २ बालिका र १ ज्येष्ठ नागरिक गरी १० जना फेला परिसकेका छन् भने १ बालिका फेला पर्न बाँकी रहेको सूचना अधिकारी भट्टराईले बताउनुभयो । साथै कार्यालयमा प्रत्यक्ष परेका १२ वटै ठाडो उजुरीको फछ्यौट भएको उहाँले बताउनुभयो ।

यसका साथै गएको महिनामा जिल्लाभरमा ८ वटा सवारी दुर्घटना हुँदा १० सवारी साधनमा क्षति पुगेको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । ट्राफिक चेकिङका क्रममा २७२ सवारी साधनलाई कारबाही गरी ३ लाख ४० हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ । यसका साथै राजस्व चुहावट नियन्त्रणतर्फ ७९ हजार ४ सय ५० रुपैयाँ राजस्व संकलन भएको छ भने प्राकृतिक सम्पदा दोहन गर्ने २ सवारी साधनलाई नियन्त्रणमा लिई ४० हजार रुपैयाँ जरिवाना तिराइएको प्रहरीले जनाएको छ ।

(मिति २०८३ साल मंसिर ७ गते करूवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)

सम्बन्धित खवर