तिनाउ कुसुमडाँडा र जामुनेका घरघरमै खानेपानीको धारा

पाल्पा । तिनाउ गाउँपालिका–२, कुसुमडाँडाकी दुर्गादेवी रास्कोटीले खोलाबाट पानी बोकेर गाईवस्तुलाई खुवाएको वर्षौं भयो । घर नजिकै खोल्सा र कुवा भए पनि हिउँदमा भने पानी सुक्ने गर्दछ । एक घण्टा लगाएर दोभान खोलामा गएर पानी बोक्नुपर्ने बाध्यता थियो । खानेपानीकै कारण छिमेकीसँग धेरैपटक झगडा भएको उहाँले सुनाउनुभयो । यो समस्या उहाँको मात्र होइन, कुसुमडाँडा र जामुनेका बासिन्दाको साझा समस्या हो । तर, अहिले यो समस्या सदाका लागि अन्त्य भएको छ ।

तिनाउ गाउँपालिकाको ‘एक घर, एक धारा’ कार्यक्रम अन्तर्गत कुसुमडाँडा र जामुनेमा घरघरमा खानेपानी पु¥याइएको छ । कुसुमडाँडा र जामुने गरेर ५४ घरमै धारा जडान गरी खानेपानी पु¥याइएको वडाध्यक्ष यादवप्रसाद अर्यालले बताउनुभयो । बर्खायाममा खानेपानीको दुःख नहुने यो गाउँमा हिउँदमा साह्रै समस्या थियो । अहिले घरघरमा २४ घण्टा खानेपानी पुग्दा समस्याको अन्त्य भएको अर्यालको भनाइ छ ।

कुसुमडाँडाको बाहुन खोलामा पानीको मुहान छ । बस्तीदेखि टाढा हुँदा त्यहाँको पानी स्थानीयले प्रयोग गर्न पाएका थिएनन् । कुसुमडाँडा सामुदायिक वनका खोल्साखोल्सीको पानीले स्थानीयले आफ्नो जीविका चलाएका थिए । गाउँपालिकाको ‘एक घर, एक धारा’ कार्यक्रम अन्तर्गत स्थानीयले घरघरै पानीको धारा पाएको पालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । “पानीको मुहान छ, पानी त्यसै खेर गएको छ तर कुसुमडाँडाका स्थानीय घण्टौं लगाएर पानी बोक्नु पर्ने बाध्यता थियो । पालिकाको २५ लाख र प्रदेश सरकारको २५ लाख सहयोग गरी ५० लाख लागतमा खानेपानी आयोजना सम्पन्न भयो,” श्रेष्ठले भन्नुभयो । यो खानेपानी आयोजना तिनाउकै पहिलो ‘सेडिमेन्टेसन ट्याङ्क’ प्रविधिको खानेपानी आयोजना हो । यो प्रविधि खानेपानी मुहानमै शुद्धीकरण गरी उपभोक्ताको घरमै पु¥याउने प्रविधि रहेको श्रेष्ठको भनाइ छ । मुहानमा २० हजार लिटरको एक ट्याङ्की र कुसुमडाँडामा १० हजार लिटरको गरी ३० हजार लिटर क्षमताका ट्याङ्की निर्माण गरिएको छ ।

यो आयोजना २०८२ माघबाट सुरु गरी ३ महिनामै सम्पन्न भएको हो । उपभोक्ता समिति गठन गरी यो आयोजना सम्पन्न गरिएको कुसुमडाँडा जामुने खानेपानी आयोजनाका अध्यक्ष खुमबहादुर सारुले बताउनुभयो । आयोजनामा खानेपानी तथा सरसफाई कार्यालयको प्राविधिक सहयोग रहेको छ । सोही अनुसार २ वटा ट्याङ्की, मुहानमा सेडिमेन्टेसन ट्याङ्क प्रविधि र ५४ घरमा धारा जडान गरिएको अध्यक्ष सारुको भनाइ छ ।

कुसुमडाँडा र जामुनेका स्थानीयले वैशाखबाट आफ्नै घरको धारामा पानी खान थालेका हुन् । खानेपानी उपभोक्ता समितिले मासिक १०० रुपैयाँ शुल्क लिन्छ । सोही शुल्कबाट उठेको रकम मर्मत तथा कर्मचारी तलबमा खर्च गर्ने गरेको छ । तिनाउ गाउँपालिकामा साना–ठूला गरी ११४ वटा खानेपानी आयोजना छन् । तीमध्ये ९९ वटा आयोजना सम्पन्न भइसकेका छन् भने बाँकी आयोजना सञ्चालनको क्रममा रहेको गाउँपालिकाले जनाएको छ ।

(मिति २०८३ मंसिर ७ गते साेमबार करूवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)

सम्बन्धित खवर