
पाल्पा । रैनादेवी छहरा गाउँपालिका– ३ भुवनपोखरीस्थित गोखुङ्गाको रैनादेवी मन्दिरमा दुईदिने न्वागी मेला सम्पन्न भएको छ । नयाँ धान रैनादेवी भगवतीलाई चढाएर दही–चामल खाँदै परम्परागत कला, संस्कृति र मौलिक बाजागाजाका साथ मेला सकिएको हो ।
प्रत्येक वर्ष नयाँ धान भित्र्याएपछि रैनादेवी भगवतीलाई दही, चामल, सिलाम, केरा, महलगायतका सामग्री चढाएर न्वागी खाने परम्परा यहाँ वर्षौंदेखि चल्दै आएको छ । स्थानीय किसानले मनाउने यो पर्वलाई दशैँ–तिहारपछिको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा लिइन्छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुपाल खाम्चाका अनुसार नयाँ बाली भित्र्याउने खुसीयालीमा यो पर्व मनाइँदै आएको हो ।
न्वागी पर्वकै अवसरमा मंसिर ५ गते विशेष पूजाआजा गरी करिब एक करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण गरिएको रैनादेवी मन्दिरको उद्घाटनसमेत गरिएको छ । मन्दिर उदघाटन गर्दै गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईले रैनादेवी मन्दिर धार्मिक आस्था, ऐतिहासिक महत्व र स्थानीय पहिचानसँग जोडिएको महत्वपूर्ण धरोहर भएको बताउनुभयो । उहाँले यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्व संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पाल्पाका सेन वंशीय राजा मुकुन्द सेन द्वितीयले विसं १८२९ तिर रैनादेवीको दैनिक पूजाआजाका लागि भुवनपोखरीको लामपातेमा ४० मुरी धान फल्ने खेत गुठीका रूपमा प्रदान गर्नुभएको ऐतिहासिक तथ्य रहेको वडाध्यक्ष प्रदीप पौडेलले बताउनुभयो । उहाँले यस क्षेत्रका विभिन्न समुदायले नयाँ कामको सुरुवात गर्दा, घ्यू तताउँदा, भैँसी ब्याउँदा, परदेश जाँदा तथा विवाहलगायत शुभकार्यमा पहिले रैनादेवीलाई सम्झने र प्रसाद चढाउने चलन रहेको बताउनुभयो । साथै, परिवारमा जेठो सन्तान जन्मिएपछि देवीलाई पूतबढाई दिने र पञ्चबलि लैजाने परम्परासमेत रहेको छ ।
रैनादेवी मन्दिरमा अहिले पनि जेठोपाडोको बलि दिने परम्परा कायमै छ । न्वागी मेलामा लोपोन्मुख अवस्थामा रहेका मगरी, सोरठी, ठूलो नाच, पञ्चेबाजा, मालाश्री, रत्यौली, झाम्रे, चुड्का, लाखे र कौडालगायत विभिन्न जातजातिका मौलिक कला तथा संस्कृति प्रस्तुत गरिएको थियो ।
मेलामा राष्ट्रिय कलाकार खुमन अधिकारी, गणेश अधिकारीलगायतले सांगीतिक प्रस्तुति राखेका थिए । धार्मिक आस्था, कृषि परम्परा र स्थानीय मौलिक संस्कृतिको संगमका रूपमा रहेको न्वागी मेलाले भुवनपोखरी क्षेत्रको सांस्कृतिक पहिचान जोगाउनुका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याएको गाउँपालिका उपाध्यक्ष युवराज थापाले बताउनुभयो ।







