नागरिकको आवश्यकतामा आधारित पूर्वखोलाको विकास

पाल्पा । पूर्वखोला गाउँपालिकाले नागरिकको आवश्यकतालाई केन्द्रमा राखेर विकासका गतिविधि अगाडि बढाएको जनाएको छ । ‘मानिस स्वस्थ र शिक्षित भए मात्र समाजको दिगो विकास सम्भव छ’ भन्ने मान्यताका साथ पालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधारका क्षेत्रमा काम गरेको गाउँपालिकाले जनाएको हो ।

स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको पूर्वखोलामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न गरी छिट्टै विशेषज्ञ चिकित्सकसहितको सेवा सुरु गर्ने अवस्थामा पुगेको छ । यसले सामान्य उपचारका लागि पनि टाढा धाउनुपर्ने स्थानीयको बाध्यता अन्त्य गर्नेछ । हाल पालिकाका ५ वटा स्वास्थ्य चौकी सुविधासम्पन्न भवनबाट सञ्चालित छन् भने वडा नं. ४ देवीनगरको भवन यसै वर्ष सम्पन्न हुँदैछ । सबै स्वास्थ्य चौकीमा प्रयोगशाला र प्रसूति गृह सञ्चालनमा आएसँगै सुरक्षित मातृत्व सुनिश्चित भएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो ।

यस्तैगरी शिक्षा सुधारमा पूर्वखोलाले नमुनायोग्य काम गरेको छ । पालिकामा कुनै पनि निजी विद्यालय छैनन । सबै निजी विद्यालयलाई सामुदायिकमा गाभिएको छ । ‘बिग स्कुल’ अवधारणा र ‘एक वडा, एक माध्यमिक विद्यालय’ को नीतिअनुसार विद्यार्थी संख्या न्यून भएका विद्यालय मर्ज गरी ४२ बाट ३४ वटामा झारिएको छ । विद्यालय मर्ज भए पनि विद्यार्थीले आधा घण्टाभन्दा बढी हिँड्नुपर्ने अवस्था छैन । यसले कम जनशक्तिमा गुणस्तरीय शिक्षा दिन सहज बनाएको अध्यक्ष थापाको भनाइ छ । उहाँका अनुसार सबै विद्यालयका कक्षाकोठालाई प्रविधिमैत्री बनाइएको छ । विपन्न तथा अभिभावकविहीन बालबालिकालाई शैक्षिक सामग्रीसहित वार्षिक न्यूनतम ७ हजार रुपैयाँ नगद सहयोग प्रदान गरिँदै आएको छ । साथै, कक्षा ११ र १२ मा अध्ययनरत छात्रालाई वार्षिक ३ हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराइएको छ ।

पूर्वखोला–२ जल्पास्थित ‘ढोलीमारा सामुदायिक होमस्टे’ अहिले आन्तरिक पर्यटकको प्रमुख गन्तव्यका रुपमा विकास भएको छ । यहाँ पर्यटक आकर्षित गर्न स्थानीय गुफा, रमणीय डाँडापाखा र चुली डाँडामा भौतिक संरचना निर्माण गरिएको छ प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताउनुभयो । यसका साथै नागरिकलाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन पालिकाले कोदो, मकै, सुन्तलाजात फलफूल र तरकारी गरी ५ वटा कृषि पकेट क्षेत्र सञ्चालन गरेको उहाँको भनाइ छ । समूहगत रूपमा उत्पादित अदुवा र बेसार प्रशोधन गरी बिक्री गर्दा किसानले वार्षिक रुपमा राम्रो आम्दानी गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत नेपालले बताउनुभयो ।

संघ र प्रदेश सरकारको समन्वयमा सबै वडा कार्यालयबाट गाउँपालिका केन्द्र जोड्ने पहुँच मार्ग कालोपत्रे तथा स्तरोन्ननिका साथै अन्य पूर्वाधार निर्माणको काम भैरहेको सूचना अधिकारी प्रमुख मोहन ढकालले बताउनुभयो । जसले गर्दा पालिकाका सबै टोलमा बाह्रै महिना चल्ने सडक सञ्जाल विस्तार गर्ने कामले तीव्रता पाएको उहाँको भनाइ छ । पालिका भित्र गत आर्थिक वर्षसम्म ‘एक घर, एक धारा’ अभियानअन्तर्गत ८० प्रतिशत घरपरिवारमा निजी धारा जडान गरिएको पालिकाले जनाएको छ ।

(२०८३ मंसिर ३ गते करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)

सम्बन्धित खवर