
पाल्पा । तानसेन–९, दमकडास्थित दमकडा माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण प्रमाणपत्र प्राप्त गरेको छ । दुई वर्षअघि अन्तर्राष्ट्रिय गुणस्तर चिह्न (आइएसओ लोगो) पाएको विद्यालयले आवश्यक सम्पूर्ण चरण र मापदण्ड पूरा गरी पाल्पा जिल्लामै यस्तो प्रमाणपत्र प्राप्त गर्ने पहिलो विद्यालय बनेको हो ।
बिहीबार आयोजित एक औपचारिक कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगरको विशेष उपस्थितिमा ग्लोबल क्वालिटी काउन्सिलका नेपाल राष्ट्रिय निर्देशक सुदीप शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्याल र प्रधानाध्यापक मोहनप्रसाद सापकोटालाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा सभामुख घर्तिमगरले भौतिक, शैक्षिक तथा समग्र पक्षमा सुधार गरी अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड पूरा गरेकामा विद्यालय परिवारलाई धन्यवाद दिनुभयो । उहाँले पछिल्लो समय नैतिक शिक्षाको आवश्यकता महसुस गरिए पनि वर्तमान शिक्षा नीतिबाट त्यो अपेक्षा गर्नु उचित नहुने बताउनुभयो । नेपालको शिक्षा नीति नै त्रुटिपूर्ण रहेको र पश्चिमा दर्शनमा आधारित रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जबसम्म पूर्वीय दर्शनमा आधारित शिक्षा नीति बनाउन सकिँदैन, तबसम्म शिक्षामा सुधार हुँदैन ।”
राष्ट्रिय निर्देशक शर्माले भौतिक तथा शैक्षिक क्षेत्रका ८० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकाले विद्यालयलाई प्रमाणपत्र प्रदान गरिएको जानकारी दिनुभयो । दमकडा मावि जिल्लामै गुणस्तर चिह्न र प्रमाणपत्र दुवै प्राप्त गर्ने पहिलो विद्यालय बनेकोमा बधाई दिँदै उहाँले मापदण्ड पूरा गर्न खट्ने सबैको मेहनतको प्रशंसा र निरन्तरताको आग्रह गर्नुभयो ।
तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले विद्यालय गुणस्तरीय शिक्षाका लागि रचनात्मक रूपमा क्रियाशील रहेको बताउनुभयो । यो उपलब्धि सबैका लागि गौरवको विषय भएको उल्लेख गर्दै उहाँले अन्य विद्यालयले पनि यसको सिको गर्नुपर्ने तथा गुणस्तरसँगै संस्कारयुक्त शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
समयसापेक्ष प्रविधिमैत्री शैक्षिक अभ्यास, कक्षाकोठा व्यवस्थापन र भौतिक संरचना निर्माणलाई प्राथमिकता दिएर तीव्र गतिमा काम गरेकाले छोटो अवधिमै प्रमाणपत्र प्राप्त गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्यालले बताउनुभयो । उहाँले आवश्यक सूचक पूरा गरी विद्यालयलाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक संस्थाका रूपमा स्थापित गर्न अहोरात्र खटिने र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका प्रमुख प्रेमराज खरेल, शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज न्यौपाने, सहायक प्रधानाध्यापक होर्तिराज ढुङ्गाना र पत्रकार माधवप्रसाद अर्याललगायतले सफलताका लागि बधाई दिँदै शैक्षिक गुणस्तर अभिवृद्धिमा प्राप्त उपलब्धिको प्रशंसा गर्नुभयो । अन्तर्राष्ट्रिय मापदण्डअनुसारका गतिविधिले विद्यार्थीमा शैक्षिक, अतिरिक्त ज्ञान र संस्कारको विकास हुने विश्वास रहेको कार्यक्रमका फोकल शिक्षक जीवन आचार्यले जानकारी दिनुभयो







