
पाल्पा । तिनाउ गाउँपालिका–४ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सत्यवती बज्यैको नवनिर्मित मन्दिर भवन उद्घाटन गरिएको छ । चिच्याएर वर माग्दा मनोकामना पूरा हुने धार्मिक विश्वास बोकेको यस मन्दिरको नवनिर्मित भवन तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।
मन्दिर उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले सत्यवती मन्दिर तिनाउको मात्र नभई समग्र पाल्पा जिल्लाकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय सम्पदा भएको बताउनुभयो । उहाँले मौलिक परम्परा र आस्थासँग जोडिएका सम्पदाको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएकोले मन्दिरको समग्र विकासका लागि समितिसंगको समन्वयमा गुरु योजना निर्माण गरी संरक्षण र विकासको कामलाई अगाडि बढाइएको बताउनुभयो । तीन तहको सरकार र समितिको समन्वय र सहकार्यमा मन्दिर निर्माण, मन्दिरसम्म पुग्ने सडकको स्तरोन्नतिसहित अन्य व्यवस्थापनको काम गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । उहाँले लोपोन्मुख अवस्थामा रहेको परम्परागत सोरठी नाचलाई गाउँपालिकाले निरन्तरता दिनेकाम गरेको बताउनुभयो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयले ऐतिहासिक महत्व बोकेको सत्यवती मन्दिरको प्रचारप्रसार गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले मेलाको समयमा भक्तजनको शान्ति, सुरक्षाको व्यवस्थापनका लागि प्रहरी प्रशासनको तर्फबाट कुनै कमी नहुँने बताउनुभयो ।
नवनिर्मित मन्दिर ६५ लाख ५८ हजार ४ सय १३ रुपैयाँ खर्च भएको लागतमा निर्माण सम्पन्न भएको सत्यवती मन्दिर तथा ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिनुभयो । जसमा समितिको ४० लाख ५८ हजार रुपैयाँ र गाउँपालिकाको २५ लाख रुपैयाँ लगानी रहेको उहाँले बताउनुभयो ।
मन्दिर उद्घाटन तथा समन्वय बैठकमा गाउँपालिका उपाध्यक्ष लालबहादुर थापा, नेपाल प्रहरीका डीएसपी भीमलाल भट्टराई, सशस्त्र प्रहरी बल गुल्म नम्बर ३५ का गणपति नरेशकुमार खड्का, ट्राफिक प्रहरी प्रमुख राजेन्द्र खड्का, प्रमुख प्रशासकीय अधिकृत फर्सुराम भट्टराई, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनासहित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।







