ओजस्वीलाई ‘कालिका जगन्नाथ प्रतिभा पुरस्कार’

पाल्पा । तानसेन–९, दमकडास्थित दमकडा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १४ वर्षीया ओजस्वी आचार्यलाई ‘कालिका जगन्नाथ प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । सानै उमेरमा प्रभावशाली वक्ताका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल आचार्यलाई शहीद स्मृति पुस्तकालय, भैरहवाको २५ औँ स्थापना दिवस तथा रजत महोत्सवका अवसरमा पुरस्कार प्रदान गरिएको हो ।

बाल वक्तृत्व, सामाजिक चेतना र युवामुखी प्रेरणाका क्षेत्रमा पुराएको योगदानको कदरस्वरूप नगद दश हजार, दोसल्ला, पदक र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो । विभिन्न क्षेत्रमा कर्ममार्फत नेपालको प्रतिष्ठालाई विस्तार गर्ने व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले योगनाथ आचार्य र हिरादेवी आचार्यले स्थापना गर्नुभएको अक्षयकोषबाट यस वर्ष बाल वक्तृत्वतर्फ आचार्यलाई प्रदान गरिएको शहीद स्मृति पुस्तकालयका अध्यक्ष गोपालप्रसाद अर्यालको अध्यक्षतामा जानकारी दिनुभयो ।

आचार्यलाई सन् २०२५ मा थाइल्यान्डमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलनमा अतिथि वक्ताका रूपमा सहभागी भई विदेशमा रहेका नेपालीलाई मातृभूमिसँग जोड्न योगदान पुराएबापत उहाँलाई एनआरएनएले ‘ब्रान्ड एम्बेसडर’ घोषणा गरेको थियो । त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल, नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय वक्तृत्व प्रतियोगितामा प्रथम भएपछि लागूऔषधविरुद्धको अभियानमा ‘जागरण दूत’ समेत घोषणा गरिएको थियो ।

वक्ताका रूपमा विषयवस्तुको गहिरो पकड, तर्क प्रस्तुत गर्ने शैली र आत्मविश्वासका कारण चर्चामा रहनुभएकी आचार्यले बालबालिकासम्बन्धी कार्यक्रम सञ्चालन र सार्वजनिक संवादको माध्यमबाट आफ्नो अभिव्यक्तिको दायरा थप फराकिलो बनाउँदै अगाडि बढ्नुभएको । जसले युवालाई सकारात्मक सोच र विकृति–विसङ्गतिविरुद्ध सचेत गराउन उहाँका प्रस्तुतिहरूले उल्लेखनीय प्रभाव पार्दै आएको छ । यसअघि उहाँलाई चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ का अवसरमा ‘चैतन्य युवा प्रतिभा सम्मान’ समेत प्रदान गरिएको थियो ।

सम्मान तथा पुरस्कार ग्रहण गर्दै आचार्यले पुरस्कारले आफूलाई थप जिम्मेवार, ऊर्जाशील र तल्लीन भएर राष्ट्र तथा समाजको पक्षमा अघि बढ्न प्रेरणा मिलेको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय