
पाल्पा । विगत चार महिनाको अवधिमा वर्षात्, हावाहुरी, बाढी तथा पहिरोका कारण पाल्पा र गुल्मी जिल्लाका १४ वटा विद्यालयका विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ । सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका अनुसार प्राकृतिक विपद्का कारण यी विद्यालयहरूको पठनपाठनसमेत प्रभावित बन्न पुगेको छ ।
डिभिजन कार्यालयका प्रमुख लक्ष्मण घिमिरेका अनुसार गुल्मीमा ११ र पाल्पामा तीन गरी कुल १४ वटा विद्यालयमा मौसमी वर्षाले क्षति पु¥याएको हो । पाल्पा जिल्लातर्फ तानसेन नगरपालिकास्थित विष्णु प्राथमिक विद्यालय, रामपुर नगरपालिकास्थित रामतुल्सी माध्यमिक विद्यालय र भानुभक्त माध्यमिक विद्यालयका पूर्वाधारमा वर्षात्ले क्षति पु¥याएको छ । वर्षात्सँगै आएको तीव्र हावाहुरी, बाढी र पहिरोका कारण कतिपय विद्यालय भवनका छाना उडेका छन् भने कतै भवनहरू चर्किएका छन् । पहिरोका कारण विद्यालय भवनहरू उच्च जोखिममा परेका छन्, घेराबार भत्किएका छन्, केही संरचनाहरू बगाएका छन् तथा कक्षाकोठा र विद्यालयका जिन्सी सामग्रीमा समेत ठूलो क्षति पुगेको सम्बन्धित विद्यालयहरुले जनाएका छन् ।
यसैगरी, गुल्मी जिल्लातर्फ सत्यवती गाउँपालिकाको जनता माध्यमिक विद्यालय, चन्द्रकोट गाउँपालिकाको शारदा माध्यमिक विद्यालय र रामकोट माध्यमिक विद्यालयमा बाढी तथा पहिरोले क्षति पु¥याएको छ । यसैगरी, मालिका गाउँपालिकामा सबैभन्दा बढी आठवटा विद्यालयहरूमा क्षति पुगेको कार्यालय प्रमुख घिमिरेले जानकारी दिनुभयो । मालिका गाउँपालिकामा प्रभावित हुने विद्यालयहरूमा अर्जे माध्यमिक विद्यालय, सिद्धि मालिका आधारभूत विद्यालय, छापहिले माध्यमिक विद्यालय, जमलपोखरा माध्यमिक विद्यालय, देवीस्थापन माध्यमिक विद्यालय, हवाङ्दी माध्यमिक विद्यालय, खड्ग आधारभूत विद्यालय र सिद्ध प्राथमिक विद्यालय रहेका छन् ।
विशेषगरी असोजको तेस्रो सातामा परेको अविरल वर्षाका कारण ग्रामीण भेगका विद्यालयहरूको शैक्षिक गतिविधिमा गहिरो असर परेको छ । डिभिजन कार्यालय पाल्पाका अनुसार सहरी क्षेत्रभन्दा ग्रामीण भेगका विद्यालयमा सबैभन्दा बढी क्षति पुगेको छ । कार्यालयका नायब सुब्बा ऋषिराम पाण्डेयले ग्रामीण भेगका डाँडाबस्तीमा अवस्थित तथा खोला र नदी किनारका छेउमा रहेका विद्यालयहरू हावाहुरी, बाढी र पहिरोको उच्च जोखिममा पर्ने गरेको बताउनुभयो । प्राकृतिक प्रकोपका कारण विद्यालय भवनमा क्षति पुगेपछि विद्यार्थीहरूको पठनपाठन नियमित रूपमा सञ्चालन गर्न कठिनाई उत्पन्न भएको छ ।
विपद्का कारण क्षति पुगेका यी विद्यालयहरूको लुम्बिनी प्रदेश सरकारले हाल विस्तृत तथ्याङ्क सङ्कलन गरिरहेको छ । तथ्याङ्क सङ्कलनको कार्य सम्पन्न भएपछि क्षतिको आधिकारिक विवरण तयार गरी मर्मतसुधार तथा पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने तयारी भइरहेको नायब सुब्बा पाण्डेयले जानकारी दिनुभयो । विद्यालयका भौतिक संरचना समयमै मर्मत नभएमा विद्यार्थीहरूको भविष्य र पठनपाठनमा ठूलो असर पर्ने भएकाले स्थानीय बासिन्दा तथा सरोकारवाला निकायले छिटो पुनर्निर्माण कार्य अगाडि बढाउन आग्रह गरेका छन् ।
(कार्तिक ३० गते सोमबारको करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)







