
पाल्पा । रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका पाल्पालीहरूको साझा संस्था ‘पाल्पाली समाज यूएई’ ले आफ्नो शैक्षिक सहयोग अभियानअन्तर्गत जिल्लाको ६९ औँ विद्यालयमा अक्षय कोष स्थापना गरेको छ ।
“शिक्षा मानिसको तेस्रो आँखा हो” भन्ने मूल मान्यताका साथ जन्मभूमिको शैक्षिक विकास र सामाजिक उत्तरदायित्वमा सक्रिय रहँदै आएको समाजले तिनाउ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालयमा २५ हजार बराबरको अक्षय कोष रकम विद्यालयलाई हस्तान्तरण गरेको हो ।
आफूले विदेशमा परिश्रम गरी कमाएको रकमको केही हिस्सा जन्मभूमिको विपद् व्यवस्थापनदेखि शैक्षिक उन्नयनमा लगानी गर्दै आएको समाज सन् २०१५ मा स्थापना भएलगत्तै सन् २०१७ देखि यो अभियान थालेको थियो । गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने लक्ष्यसहित सुरु गरिएको अभियान ६९ औँ विद्यालयमा पुगेको छ । समाजको संरक्षकत्वमा रहने यस कोषको मूलधन सुरक्षित राखी त्यसबाट प्राप्त हुने ब्याज रकमबाट विद्यालय व्यवस्थापन समिति, अभिभावक र यूएईमा कार्यरत स्थानीय सदस्यहरूको समन्वयमा लक्षित विद्यार्थी छनोट गरी वार्षिक रूपमा छात्रवृत्ति प्रदान गरिने समाजका महासचिव खुमप्रसाद न्यौपानेले बताउनुभयो ।
रकम हस्तान्तरण कार्यक्रमकै अवसरमा मानवीय संवेदनशीलता र समावेशी शिक्षाप्रतिको प्रतिबद्धता दर्शाउँदै समाजका संरक्षक बेदप्रसाद अर्यालले सोही विद्यालयको कक्षा २ मा अध्ययनरत अपाङ्गता भएका विद्यार्थी टीकाराम रास्कोटीलाई व्यक्तिगत रूपमा ५ हजार नगद सहयोगसमेत प्रदान गर्नुभएको छ । कोष रकम हस्तान्तरण कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले परदेशमा रहेर पनि आफ्नो गाउँठाउँ र भावी पुस्ताको उज्ज्वल भविष्यप्रति गरिएको सानो सहयोगले विद्यार्थीको जीवनमा ठूलो र सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
समाजका सचिव दिनानाथ गैरे, कोषाध्यक्ष डिल्लीराज भट्टराई, सहयोगी प्रकाश भट्टराईसहितको उपस्थितिमा भएको कोष हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा शिक्षकलगायतले प्रवासी पाल्पालीले गरेको उदाहरणीय कार्यप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि जन्मभूमिको समृद्धि र शैक्षिक जागरणमा रचनात्मक अभियानलाई निरन्तरता दिन आग्रह गरेका थिए ।







