
पाल्पा । रम्भा गाउँपालिकाले रैथाने बाली प्रवद्र्धनका लागि कृषकहरुको खेतबारीको अनुगमन गरेको छ । आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रम अनुसार रैथाने बाली प्रवद्र्धन कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि कृषकका खेतबारीमा पुगेर अनुगमन गरेको गाउँपालिकाले जनाएको छ ।
परम्परागत रूपमा खेती हुँदै आएका रैथाने बालीको संरक्षण, प्रवद्र्धन तथा उत्पादनमा वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले कृषकहरूबाट आवेदन माग गरेको थियो । सोहीअनुसार गाउँपालिकाका पाँचवटै वडाका कृषकहरूले आफूले खेती गर्दै आएका रैथाने बालीहरूको विवरणसहित आवेदन पेस गरेका थिए । सोही अनुसार अनुगमन गरिएको हो ।
कार्यक्रमअन्तर्गत अनदी धान, झिनुवा धान, बर्मेली धान, छोटे धान, कोदो, फापर, भटमास तथा गहतलगायतका परम्परागत रैथाने बालीहरूको खेती गरिरहेका कृषकहरूको विवरण संकलन गरिएको छ । कृषकहरूले उपलब्ध गराएको विवरणका आधारमा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, कृषि शाखाका प्राविधिक सुशील भण्डारीलगायतको टोलीले सम्बन्धित वडाका जनप्रतिनिधिहरूको सहभागितामा स्थलगत अनुगमन गरेको हो ।
अनुगमनका क्रममा कृषकहरूले परम्परागत रूपमा संरक्षण गर्दै आएका रैथाने बालीको अवस्था, खेतीपातीको निरन्तरता तथा उत्पादनसम्बन्धी विषयमा छलफलसमेत गरिएको कृषि शाखाका प्राविधिक भण्डारीले जानकारी दिनुभयो ।
स्थानीय स्तरमा लोप हुँदै गएका परम्परागत बालीहरूको संरक्षण गर्दै कृषकलाई प्रोत्साहन गर्ने, स्थानीय कृषि उत्पादनको पहिचान स्थापित गर्ने तथा रैथाने बालीको खेती विस्तार गर्ने लक्ष्यसहित गाउँपालिकाले कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष भण्डारीको भनाइ छ । उहाँले रैथाने बालीको संरक्षण र प्रवद्र्धनले स्थानीय कृषि तथा खाद्य संस्कृतिको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको समेत बताउनुभयो ।







