
पाल्पा । जिल्लाका स्थानीय तहहरूले सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन र सिकाइ उपलब्धिमा सुधार ल्याउन विविध नवीन अभ्यासहरू अगाडि बढाएको पाइएको छ । स्थानीय तहले पूर्वाधार विकाससंगै दिवा खाजा, प्रविधिमैत्री शिक्षण, विद्यालय नर्स, छोरी शिक्षा, ‘पढ्दै कमाउँदै’ तथा विद्यार्थीसँग करेसाबारीजस्ता रचनात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको प्रस्तुति मार्फत जानकारी दिएका हुन ।
जिल्लाका दश पालिकाहरूले आफ्नो भौगोलिक र सामाजिक आवश्यकता अनुसार फरक फरक शिक्षा सुधारका योजना लागू गरेका छन् । रम्भा गाउँपालिकाले बालमैत्री भौतिक पूर्वाधार, करेसाबारी, सबै विद्यालयमा प्रोजेक्टर, दिवा खाजा र पालिकास्तरीय परीक्षा सञ्चालनलाई प्राथमिकता दिएको छ । माथागढी गाउँपालिकाले अतिरिक्त क्रियाकलाप, खेलकुद, पढ्दै कमाउँदै र कृषि कार्यक्रममा ध्यान दिएको छ भने तिनाउ गाउँपालिकाले प्रविधिमैत्री शिक्षण, विद्यालय समायोजन र आवासीय विद्यालय व्यवस्थापनको अभ्यास थालेको छ । त्यसैगरी, रैनादेवी छहरा गाउँपालिकाले विद्यालय नर्स, दुर्घटना बीमा र विपन्न तथा अपाङ्गता भएका विद्यार्थीलाई ल्यापटप वितरण गरेको छ भने तानसेन नगरपालिकाले छोरी शिक्षा र प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरी शैक्षिक वातावरण सुदृढ बनाइरहेको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रामजी घिमिरेले स्थानीय तहका अभ्यासहरूले विद्यालयमा आवश्यक पूर्वाधार विकास गर्नुका साथै विद्यार्थीको नियमित उपस्थिति, स्वास्थ्य, पोषण र शिक्षण सिकाइमा प्रत्यक्ष ध्यान पु¥याएको बताउनुभयो । उहाँले विद्यालयमा प्रोजेक्टर र स्मार्टबोर्डको प्रयोगले विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी श्रव्यदृश्य माध्यमबाट व्यावहारिक रूपमा सिक्ने उत्कृष्ट अवसर प्रदान गरेको बताउनुभयो ।
पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य वीरबहादुर रानाले शिक्षकको क्षमता विकास र विद्यालयको शैक्षिक वातावरण सुधारका लागि स्थानीय तहहरूले गरेका प्रयासहरू अत्यन्तै सकारात्मक र सराहनीय रहेको बताउनुभयो । प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री खेमबहादुर सारुले भौतिक पूर्वाधार विकाससँगै विद्यार्थीले निःशुल्क शिक्षाको वास्तविक अनुभूति गर्न पाउनुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले शिक्षामा गुणात्मक सुधार ल्याउनका लागि शिक्षकहरूलाई नियमित रूपमा तालिम तथा प्रोत्साहन प्रदान गर्नुपर्ने बताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख प्रेमराज खरेलले विद्यालयको नियमित अनुगमन, सिकाइ उपलब्धिको वस्तुनिष्ठ मूल्यांकन र न्यूनतम गुणस्तर मापदण्डको पूर्ण कार्यान्वयनमा जोड दिनुभयो ।
यस्तैगरी पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले विद्यालय व्यवस्थापनमा अभिभावक सहभागिता, नतिजाप्रति शिक्षकलाई पूर्ण जवाफदेही बनाउने तथा नियमित सामाजिक लेखापरीक्षण गर्ने परिपाटीले सिकाइको स्तर सुधारमा सहयोग पुग्ने बताउनुभयो । शिक्षाका लागि राष्ट्रिय अभियान पाल्पाका संयोजक माधव प्रसाद अर्यालले स्थानीय तहहरूले शिक्षा क्षेत्रमा आफ्नो लगानी थप बढाउनुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाई र सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको संयुक्त आयोजना एवं शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र सामाजिक स्रोत विकास केन्द्रको सहकार्यमा आयोजित कार्यक्रममा शिक्षा अभियन्ता चोपलाल गिरीले २० वटा विद्यालयमा गरिएको निःशुल्क तथा गुणस्तरीय शिक्षासम्बन्धी सर्वेक्षणको नतिजा प्रस्तुत गर्दै शिक्षामा लगानी वृद्धि र प्रभावकारी अनुगमनको आवश्यकता रहेको बताउनुभयो ।
(मिति २०८३ कार्तिक २३ गते करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)







