आतिथ्य सत्कार शिक्षा पाल्पामै सुरु

तानसेन । पाल्पामा पहिलो पटक होटल व्यवस्थापन तथा आतिथ्य सत्कारसम्बन्धी डिप्लोमा तहको अध्यापन सुरु भएको छ । पाणिनी कलेज बुटवलले आफ्नो तेस्रो शाखाका रुपमा तानसेनमा एक वर्षे डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

होटल व्यवस्थापनसम्बन्धी अध्ययनका लागि बुटवल वा काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य गर्दै पाल्पा जिल्लामा गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कलेजका प्रबन्धक जनकराज भुसालले जानकारी दिनुभयो । यस कार्यक्रममार्फत विद्यार्थीहरूले होटल तथा पर्यटन क्षेत्रमा आवश्यक ज्ञान, सीप र व्यावसायिक दक्षता हासिल गर्न सक्नेछन् । पाणिनी कलेजमा डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट, बारिस्टा, बेकरी, बार टेण्डिङ, वेयटर वेट्रेस, कुकिङ र हाउसकिपिङलगायतका विषयमा पढाइ हुँदै आएको छ । हाल यस कलेजमा डिप्लोमासहित अन्य अल्पकालीन कार्यक्रमहरूमा ५० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको कलेज प्रमुख लक्ष्मण बस्यालले जानकारी दिनुभयो ।

एक वर्षे डिप्लोमा कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले पहिलो ६ महिना कलेजमै सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण लिनेछन् भने बाँकी ६ महिना स्वदेश वा विदेशका प्रतिष्ठित तारे होटल र रिसोर्टहरूमा इन्टर्नसिप गर्ने अवसर पाउनेछन् । अध्ययनसँगै प्रत्यक्ष व्यावहारिक अनुभव हासिल हुने भएकाले यसले भविष्यमा रोजगारी तथा स्वरोजगारका अवसर प्राप्त गर्न ठूलो सहयोग पुग्ने अपेक्षा कलेज प्रमुख बस्यालको भनाइ छ । यसैगरी कलेजले कुकिङ, बारिस्टा, बारटेन्डिङ, वेटर÷वेट्रेस तथा हाउसकिपिङजस्ता विभिन्न छोटा अवधिका व्यावसायिक तालिमहरूसमेत सञ्चालन गरिरहेको जनाएको छ ।

पछिल्लो समय होटल तथा पर्यटन उद्योगको विस्तारसँगै बजारमा दक्ष जनशक्तिको माग तीव्र रूपमा बढिरहेको छ । यस्तो अवस्थामा पाणिनी कलेजले तानसेनमै यो तहको अध्ययनको अवसर उपलब्ध गराएपछि स्थानीय विद्यार्थीहरूलाई समय र खर्च दुवैको बचत गर्दै व्यावसायिक शिक्षा हासिल गर्न सहज भएको विधार्थीहरुको भनाइ छ ।

(मिति २०८३ कार्तिक १९ गते बिहीबार करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)

सम्बन्धित खवर