निस्दीमा ३३ सय बढी नागरिकको मुटु स्वास्थ्य परीक्षण

पाल्पा । निस्दी गाउँपालिका भित्रका तीन हजार तीन सयभन्दा बढी नागरिकको मुटुको स्वास्थ्य परीक्षण गरिएको छ । कार्तिक १० देखि १३ गतेसम्म विद्यालयस्तरीय निःशुल्क मुटु परीक्षण शिविरबाट गाउँपालिकाका ५१ वटा विद्यालयका बालबालिका, शिक्षक, स्वास्थ्य स्वयंसेविका र अभिभावकलाई प्रत्यक्ष रूपमा लाभ लिएका हुन । बालबालिकाको मुटुको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले शिविर चलाइएको गाउँपालिकाले जनाएको छ ।

नेपाल हार्ट फाउन्डेसन, पाल्पाको समन्वयमा गाउँपालिकाले सञ्चालन गरेको मुटुको स्वास्थ्य परीक्षण शिविरमा प्राथमिक, आधारभूत र माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई समेटिएको थियो । शिविरमा नेपाल हार्ट फाउन्डेसन काठमाडौंका मुटुरोग विशेषज्ञ डा. सुमन्तप्रसाद बन्जाडे र निस्दी आधारभूत अस्पतालका डा. अञ्जली अधिकारीसहितको चिकित्सक टोलीले सेवा प्रदान गरेको थियो । शिविरमा तीन हजारभन्दा बढी विद्यार्थीका साथै तीन सयभन्दा बढी शिक्षक, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र अभिभावकको मुटुको धड्कन तथा स्वास्थ्य अवस्थाको परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविर सञ्चालनको क्रममा बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १२ जना विद्यार्थीमा जन्मजात मुटुरोगको समस्या भेटिएको छ । समयमै रोग पहिचान भएपछि उनीहरूलाई थप उपचारका लागि आधिकारिक रूपमा सिफारिस गरिएको छ । गाउँपालिकाको यस सराहनीय पहल र समन्वयका कारण सिफारिस भएका १४ वर्षसम्मका बालबालिकाले निःशुल्क रूपमा प्रभावकारी उपचार पाउने व्यवस्था मिलाइएको छ । यसले गर्दा आर्थिक अभावका कारण महँगो उपचार गर्न नसक्ने अभिभावकहरूलाई ठूलै राहत मिलेको प्रमुख दिशाको भनाइ छ ।

बालबालिकामा जन्मजात मुटुरोग भए पनि सुरुआती चरणमा स्पष्ट लक्षणहरू नदेखिएर एकैपल्ट रोग देखा पर्दा समस्या हुने भएकोले सानै उमेरमा मटुको परीक्षण गर्ने वातावरण निर्माणका लागि शिविर आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर चितौरेले बताउनुभयो । उहाँले कुनै पनि बाह्य लक्षण नदेखिएका बालबालिकामा समेत भित्री रूपमा मुटुको समस्या हुन सक्ने भएकाले विद्यालयस्तरमै पुगेर गरिएको परीक्षण अत्यन्तै प्रभावकारी भएको बताउनुभयो ।

रोग बल्झिएपछि मात्र उपचार खोज्ने परम्परागत प्रवृत्तिलाई अन्त्य गर्दै नियमित स्वास्थ्य परीक्षण गर्ने र रोगको समयमै पहिचान गर्ने बानी बसाल्न गाउँपालिकाले शिविर चलाएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । उहाँले विद्यालयमा गरिएको यस स्वास्थ्य परीक्षणले विद्यार्थीको व्यक्तिगत स्वास्थ्य अवस्थाको यथार्थ जानकारी दिनुका साथै अभिभावकहरूलाई समेत मुटुको स्वास्थ्यप्रति गम्भीर र सचेत बन्न प्रेरित गरेको बताउनुभयो । गाउँपालिकाले आफ्नो स्थानीय नीति तथा प्राथमिकताअन्तर्गत नागरिकको स्वास्थ्य सुधारका लागि अगाडि बढाएको यस्ता जनहितकारी कार्यक्रमहरूले भविष्यमा बालबालिकाको मुटुरोगबाट हुने जोखिमलाई न्यूनीकरण गर्न र स्वस्थ समाजको निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष सारुले विश्वास व्यक्त गर्नुभयो ।
(मिति २०८३ कार्तिक १९ गते बिहीबार करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)

सम्बन्धित खवर