पाल्पामा  उद्योगी व्यवसायीका समस्या सुन्दै प्रदेश सरकार

पाल्पा । पछिल्लो समयमा उद्योगी, व्यवसायीहरूले भोग्दै आएका समस्यालाई केन्द्रमा राखेर समाधान खोजिनुपर्नेमा तानसेनमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । बिहीबार लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको समन्वयमा भएको जिल्लाका उद्योगी व्यवसायीहरुको अन्तरक्रिया कार्यक्रममा यस्तो कुरामा जोड दिइएको हो ।

कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी र सरोकारवालाहरूले आफ्ना गुनासा, नीतिगत जटिलता तथा व्यवहारिक चुनौतीहरू राखेका थिए । उनीहरुले उपभोक्ताको हित संरक्षण गर्दै स्थानीय तहमा उद्योग तथा व्यवसायको दिगो विकासका लागि प्रदेश सरकारले ठोस नीति र कार्ययोजना ल्याउनुपर्ने माग समेत गरेका थिए ।

यस्तै व्यवसायीहरूले उद्योग दर्ता र नवीकरणको प्रक्रिया, झन्झटिलो कर प्रणाली, बजार प्रवद्र्धनको अभाव र लगानीको वातावरणमा देखिएका विविध चुनौतीहरूबारे सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरुले सरकारले केवल तालिम दिएर मात्रै सबै जना उद्यमी बन्न नसक्ने भएकाले बजारको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादनमा सरकारले जोड दिनुपर्ने धारणा राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारी लाल अहिरले स्थानीय स्तरमा सञ्चालित उद्योग–व्यवसायको संरक्षण र प्रवद्र्धनका लागि प्रदेश सरकार सधैं तत्पर रहेको बताउनुभयो । उहाँले युवालक्षित प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकेमा मात्र देशमा भइरहेको युवा पलायन रोक्न सकिने विचार व्यक्त गर्नुभयो । आफैं व्यवसायी भएकोले कति मर्कामा व्यवसायी छन् भन्ने राम्रोसँग बुझेको मन्त्री अहिरको भनाइ थियो । उहाँले खुल्ला सिमानाका कारण व्यवसायीहरू मारमा परेको बताउनुभयो । व्यवसायी र उपभोक्ता दुवैलाई असर पारिरहेका व्यवहारिक कठिनाइहरूलाई कानुन तथा नीतिगत सुधारमार्फत क्रमशः समाधान गर्दै लैजाने मन्त्री अहिरले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

व्यवसायीका जिज्ञाशाका विषयमा मन्त्रालयका सचिव भरतमणी पाण्डेले प्राविधिक तथा कानुनी पक्षबारे जानकारी गराउनुभएको थियो । उहाँले उपभोक्ताको हित संरक्षण गर्ने काममा प्रदेश सरकारका मातहतका निकायहरूबाट समेत आवश्यक सहजीकरण र सक्रियता हुने बताउनुभयो । कार्यक्रममा प्राप्त व्यवसायी तथा उपभोक्ताका माग र सुझावहरूलाई आगामी नीति तथा कार्यक्रममा सम्बोधन गर्दै अगाडि बढ्ने सचिव पाण्डेले बताउनुभयो ।

कार्यक्रमका अवसरमा घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख केशव सुनारले जिल्लामा हालसम्म ३ हजार ४ सय ३५ उद्योग दर्ता भएको जानकारी दिनुभयो । उहाँले पछिल्लो ५ वर्षमा उद्योग तथा व्यवसाय दर्ता भन्दा खारेजी गर्नेको संख्या बढ्दो क्रममा रहेको तथ्याङ्क प्रस्तुत गर्दै यस प्रकारको समस्या समाधान गर्न परम्परागत सीपको जगेर्ना र प्रवद्र्धन आवश्यक रहेको बताउनुभयो । उद्योग, व्यवसायलाई व्यवस्थित बनाउन तीनवटै तहका सरकारबीच एकीकृत तथ्याङ्क प्रणाली हुनुपर्नेमा प्रमुख सुनारले जोड दिनुभयो ।

(मिति २०८३ साल कार्तिक १६ गते करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)

सम्बन्धित खवर