
पाल्पा । नेपालीहरूको महान् पर्व बडादसैँ कोजाग्रत पूर्णिमाका दिनदेखि औपचारिक रूपमा सकिँदै गर्दा पाल्पाका ग्रामीण क्षेत्रहरू पुनः सुनसान बन्न थालेका छन् । दसैँ मनाउन जन्मघर फर्किएका नागरिकहरू आ–आफ्नो कर्मथलो फर्किन थालेपछि गाउँघरको चहलपहल घट्दै गएको हो ।
दसैँलगायत ठूला चाडपर्व मनाउन सहर–बजार तथा विदेशबाट गाउँ फर्किएका मानिसहरूले केही दिन गाउँलाई गुञ्जायमान बनाएपनि चाड सकिएसंगै सुनसान हुन थालेका हुन । दसैंका समयमा वर्षौंसम्म बन्द रहेका घरका ढोकाहरू खुलेका थिए, घर–आँगन लिपपोत र सरसफाइ गरिएका थिए । आफन्त, इष्टमित्र र साथीभाइहरूबीच सुख–दुःख साटासाट गर्ने वातावरण रमाइलो भएपनि छोटो समयमै साम्य भएको छ । पर्व सकिएलगत्तै युवापुस्ता र कामकाजी मानिसहरू सहर पस्नथालेपछि गाउँमा फेरि ज्येष्ठ नागरिकहरू मात्रै बाँकी रहेका छन् ।
चाडपर्वमा शैक्षिक संस्था, सरकारी तथा निजी कार्यालयहरू लामो समय बन्द हुने भएकाले अध्ययन र रोजगारीका लागि बाहिर रहेकाहरू ठूलो संख्यामा गाउँ पुगेको भएपनि दसैँ सकिएसँगै कार्यस्थलहरू खुल्नेहरु धमाधम कर्मथलो फर्किरहेका लक्ष्मी माध्यमिक विद्यालयका प्रद्यानाध्यापक विष्णु सिग्देलले बताउन्भया । उहाँले शैक्षिक संस्थाहरु भने तिहारपछि खुल्ने हुनाले केही केटाकेटी र अभिभावन गाउँमै रहेको बताउनुभयो । गाउँघरमा दिगो रोजगारी र गुणस्तरीय शिक्षाको अभावमा युवा जनशक्ति सहर–बजार वा विदेश पलायन हुन बाध्य छन् । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालका अनुसार पछिल्लो समय गाउँमा उमेर ढल्केका ज्येष्ठ नागरिकको मात्र बाहुल्यता रहँदा गाउँघर रित्तिँदै गएका छन् । युवा र स्कुले बालबालिका अवसरको खोजीमा बाहिरिएपछि गाउँका उर्वर खेतीयोग्य जमिनहरू बाँझो बनेका छन् । हिजोका हराभरा खेतबारीहरू अहिले वनमारा र झाडीमा परिणत हुन थालेका छन् ।
शिक्षा, स्वास्थ्य, खानेपानी र सडक जस्ता आधारभूत भौतिक पूर्वाधारको पूर्ण विकास हुन नसक्दा ग्रामीण क्षेत्रका बासिन्दा सहर तथा तराईतर्फ बसाइँसराइ गर्न बाध्य छन् । रैनादेवी छहरा गाउँपालिका–७ का रामबहादुर सापकोटाले चाडपर्वमा छोराछोरी घर आउँदा औधी खुसी लागे पनि उनीहरू पुनः कर्मथलो फर्किंदा मन निकै भारी हुने गरेको दुःखेसो गर्नुभयो ।
गाउँघर सुनसान बन्दै जाँदा उता सहर–बजारमा भने पुनः चहलपहल र रौनक फर्किन थालेको छ । लामो बिदापछि बजारका प्रशासनिक कार्यालय, बैंक तथा वित्तीय संस्था र व्यावसायिक प्रतिष्ठानहरू नियमित सञ्चालनमा आउन थालेपछि चहलपहल सुरु भएको हो । काम विशेषले घरबाहिर रहेका केही व्यक्तिहरू आफ्ना रोकिएका प्रशासनिक कार्य सम्पादन गर्न बसेका छन् भने अधिकांश नागरिकहरु दसैं पर्व सकेर आ–आफ्नो दैनिक रोजीरोटी र व्यस्त जीवनमा फर्किसकेका छन् ।
(मिति २०८३ साल कार्तिक ९ गते सोमबार करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)







