
पाल्पा । रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहाले स्थानीय किसानलाई व्यावसायिक कृषिमा प्रोत्साहित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरेको छ । किसानको माग र वास्तविक आवश्यकतालाई मध्यनजर गर्दै वडा कार्यालयले गत सोमबार आलुको बीउ उपलब्ध गराएको हो ।
कृषि उत्पादन वृद्धि गर्ने, कृषकलाई आत्मनिर्भर बनाउने तथा ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्यका साथ अनुदान कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो ।
ग्रामीण क्षेत्रमा कृषि व्यवसाय नै जीविकोपार्जनको मुख्य आधार रहेकाले बीउबिजनमा सहुलियत दिएर उत्पादन बढाउन मद्दत पु¥याइएको उहाँको भनाइ छ । पछिल्लो समय खेतीपातीमा बढ्दै गएको उत्पादन लागतका कारण समस्यामा परेका किसानलाई बीउ खरिदमा ५० प्रतिशत छुट दिइँदा प्रत्यक्ष आर्थिक राहत मिलेको छ । यस प्रयासले आलु खेतीतर्फ कृषकको आकर्षण बढाउनुका साथै स्थानीय स्तरमै उत्पादन वृद्धि गरी बाह्य बजारवरील निर्भरता घटाउन र किसानको आम्दानी उकास्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो ।
वडा कार्यालयका अनुसार नागरिकको मागलाई प्राथमिकतामा राखेर नै कृषि सम्बन्धी योजना कार्यान्वयन गरिएको हो । आगामी दिनमा पनि स्थानीय आवश्यकताका आधारमा यस्ता उत्पादनमुखी कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ । कृषि क्षेत्रको दिगो विकासका लागि अनुदानसँगै आधुनिक प्रविधिको प्रयोग, उन्नत खेती प्रणाली र उत्पादित वस्तुको उचित बजारीकरणमा ध्यान दिनु उत्तिकै जरुरी रहेको स्थानीय किसानको भनाइ छ ।







