अर्चलेमा खसीबोकाकाे करिब ३० लाख कारोबार

पाल्पा । निस्दी गाउँपालिका–६, अर्चलेमा खसीबोका बिक्री आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ । पछिल्ला केही वर्षयता स्थानीय कृषकहरू व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेपछि यस वर्षको बडादसैँमा खसीबोका बिक्रीबाट ३० लाखको कारोबार भएको छ । दसैँका लागि खसीबोका बिक्री गर्न पाउँदा कृषकहरू उत्साहित बनेका छन् ।

देउराली सामुदायिक विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, अर्चले, पाल्पाको समन्वयमा खसीबोकाको खरिद–बिक्री गरिएको हो । सहकारीका व्यवस्थापक अर्जुन बयम्बुका अनुसार यस वर्षको दसैँमा अर्चले क्षेत्रमा मात्रै करिब ३० लाख रुपैयाँ बराबरको खसीबोका कारोबार भएको बताउनभयो ।

यस वर्ष धोबला निवासी कृषक हस्तबहादुर गाहाले खसीबोका बिक्रीबाट एक लाख ७५ हजार रुपैयाँ आम्दानी गर्नु भएको छ । त्यसैगरी, वरपार गाउँका कृषक उजुर सिं रानाले एक लाख ४९ हजार रुपैयाँ बराबरको खसीबोका बिक्री गर्नु भएको बताउनुहुन्छ । यी कारोबारले स्थानीय स्तरमै पशुपालनबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना देखाएको छ ।

स्थानीय व्यापारी तथा कृषक नेमबहादुर सार्कीका अनुसार विगत केही वर्षयता अर्चलेका कृषकहरू परम्परागत रूपमा घरायसी प्रयोजनका लागि बाख्रा पाल्ने अभ्यासबाट विस्तारै व्यावसायिक बाख्रापालनतर्फ अघि बढिरहेका छन् । बजारको माग बुझेर बाख्रापालन गर्न सकेमा घरपरिवारको आर्थिक अवस्था सुधार गर्न तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

वडा अध्यक्ष मेखबहादुर सुनारीले कृषकहरूलाई परम्परागत पालन प्रणालीमा मात्र सीमित नभई समयअनुसार व्यावसायिक बन्न सुझाव दिनु भएको छ । बाख्रापालनलाई व्यवस्थित र उत्पादनमुखी बनाउन सकेमा स्थानीय स्तरमै रोजगारी सिर्जना हुनुका साथै कृषकहरूको आम्दानी बढाउन सकिने उहाँको धारणा छ ।

स्थानीय कृषकहरूले भने व्यावसायिक पशुपालनलाई थप प्रोत्साहन गर्न स्थानीय सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् । कृषकलाई उन्नत पालन विधि, घाँस तथा दानाको व्यवस्थापन, खोर सुधार, बजारको पहुँच र आवश्यक तालिम उपलब्ध गराउन सकेमा बाख्रापालन अझ प्रभावकारी बन्ने उनीहरूको भनाइ छ ।

त्यसैगरी, बाख्रामा लाग्ने विभिन्न रोगको रोकथाम तथा समयमै उपचारका लागि पशु स्वास्थ्य प्राविधिकहरू कृषकको घर तथा गोठसम्म पुग्ने व्यवस्था मिलाउनुपर्नेमा कृषकहरूले जोड दिएका छन् । नियमित स्वास्थ्य परीक्षण, खोप, परजीवी नियन्त्रण र प्राविधिक परामर्श उपलब्ध भएमा पशुमा हुने क्षति कम गर्न सकिने उनीहरूको अपेक्षा छ ।

दसैँजस्ता चाडपर्वमा खसीबोकाको माग बढ्ने भएकाले स्थानीय कृषकहरूका लागि यो आम्दानीको महत्वपूर्ण अवसर बन्दै आएको छ । स्थानीय स्तरमै उत्पादन भएका खसीबोकाको खरिद–बिक्रीलाई व्यवस्थित गर्दै बजार सुनिश्चित गर्न सकेमा कृषकले उचित मूल्य पाउनुका साथै बिचौलियामा निर्भरता घटाउन पनि सहयोग पुग्ने देखिन्छ ।

सम्बन्धित खवर