
पाल्पा । नेपाल परिवार नियोजन संघ पाल्पाले एचआइभी संक्रमण रोकथामका लागि गरिने उपचार विधि (प्रेप) सेवाका सम्बन्धमा सरोकारवालासंग बैठक सम्पन्न गरेको छ ।
बैठकमा एचआइभी संक्रमणको जोखम कम गर्न पाल्पामा गत वर्षदेखि सुरु भएको कार्यक्रम एचआइभी संक्रमणको उच्च जोखममा रहेका व्यक्तिहरुलाई लक्षित गरेर सञ्चालन गरिएको संघले जनाएको छ ।
सेवा प्रवाहको अवस्था बारे जानकारी गराउदै संघका शाखा प्रमुख सोवाकान्त न्यौपानेले एचआइभी संक्रमणको उच्च जोखिममा रहेका व्यक्ति, यौनकर्मीहरू, समलिंगी पुरुष, ट्रान्सजेन्डर व्यक्ति वा संक्रमितका साथीहरुकको सुरक्षा सुनिश्चित गर्न सेवा सफल रहेको जानकारी दिनुभयो । उहाँले सन् २०२६ को अहिलेसम्मको अवधिमा यौन तथा एचआइभी उपचार, परीक्षण सेवा लिनेको संख्या एकइस हजार ११२ पुगेको बताउनुभयो । अहिले संघले लक्षित समुदायमा एचआईभी स्क्रिनिङ, परीक्षण र सचेतनाका काम ४ जना सामुदायिक परिचालक मार्फत गरिरहेको प्रमुख न्यौपानेको भनाइ छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले सेवा प्रभावकारी रुपमा सञ्चालन भएकोले एचआइभी र यौन रोग शून्यमा लैजान अभियान सफल हुने बताउनुभयो । उहाँले एचआइभी संक्रमित समुदायमा खुल्न नचाहने अवस्थामा उनीहरुबाट जोखिममा रहेका व्यक्तिहरुको सुरक्षाका लागि सञ्चालित सेवाले लक्षित वर्गलाई धेरै फाइदा पुगेको बताउनुभयो । समाजमा व्यव्त रहेको लान्छनाका कारण एचआइभी र यौन रोगका संक्रमितहरु खुलेर सेवा लिन आउने अवस्था नरहेकोले सुधारका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने प्रमुख खनालको भनाइ छ ।
तानसेन ६ का वडाध्यक्ष सागरमान महर्जनले हरेका नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्नका लागि तीन तहकै सरकार क्रियाशील हुनुपर्ने बताउनुभयो । उहाँले विशेषगरी एचआइभी संक्रमण भएकाहरु समाजमा अझैपनि खुल्न नसकेको समयमा संघले कार्यान्वयनमा ल्याएको प्रेप सेवा प्रभावकारी बन्दा थप संक्रमितको संख्यामा कमि हुने विश्वास व्यक्त गर्नुभयो ।
संघका अध्यक्ष शुशील राज शाक्यले फाइट ब्याक परियोजना अन्तरगत संघले सञ्चालन गरेको सेवा जिल्लाका सबै सरोकारवालाहरुको सकारात्मक सहयोगका कारण सफल बन्दै गएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि समन्वय र सहकार्यलाई निरन्तरता दिने बताउनुभयो ।







