
पाल्पा । सुन्तलाजात फलफूल विकास केन्द्र, तानसेन, पाल्पामा कार्यरत कर्मचारी तथा श्रमिकहरूको क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।
तीनदिनेसम्म चलेको कार्यक्रममा कर्मचारी तथा श्रमिकहरूको स्वास्थ्य सुरक्षा, मानसिक तथा शारीरिक तन्दुरुस्ती, सामाजिक उत्तरदायित्व, कानुनी सचेतना तथा दैनिक जीवनमा अति आवश्यक पर्ने व्यावहारिक ज्ञान र सीपसम्बन्धी विषयमा सहजीकरण गरिएको थियो ।
कार्यक्रमअन्तर्गत हरेक दिन बिहानको पहिलो सत्र योग साधना र प्राणायाम अभ्यासबाट सुरु गरिएको थियो । मारुत अभियान नेपालका योग प्रशिक्षकद्वय त्यागी अनिल मारुत र आनन्द प्रकाश योगीले सहभागी सम्पूर्ण कर्मचारी तथा श्रमिकहरूलाई विभिन्न योगासन, प्राणायाम तथा ध्यानका अभ्यासहरू गराउनुभएको थियो । त्यस अवसरमा प्रशिक्षकहरूले स्वस्थ जीवनशैली, शारीरिक तन्दुरुस्ती र मानसिक शान्तिका लागि योगको महत्वबारे जानकारी गराउनुभएको थियो ।
त्यसैगरी, कर्मचारी तथा श्रमिकहरूको स्वास्थ्य अवस्था सुधार र परामर्शका लागि युनाईटेड मिसन अस्पतालका वरिष्ठ फिजिसियन डा. राजिव न्यौपाने, मेडिकल अधिकृत डा. सन्जिर रावल र डा. किशोर पराजुली सहितको चिकित्सक टोलीले सहभागीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
कार्यक्रमकै क्रममा नेपाल रेडक्रस सोसाइटी, पाल्पा शाखाको प्राविधिक सहजीकरणमा प्राथमिक उपचारसम्बन्धी व्यावहारिक प्रशिक्षण सञ्चालन गरिएको थियो । रेडक्रसका प्रशिक्षक विनोद भारतीले दुर्घटना वा आकस्मिक अवस्थामा अपनाउनुपर्ने प्राथमिक उपचारका आधारभूत विधि, घाइतेको प्रारम्भिक अवस्था पहिचान गर्ने तरिका, अत्यधिक रक्तस्राव नियन्त्रण, चोटपटक तथा अन्य आकस्मिक स्वास्थ्य समस्यामा तत्काल गर्नुपर्ने बचावटका उपायहरूबारे सहभागीहरूलाई सैद्धान्तिक ज्ञानका साथै प्रत्यक्ष व्यावहारिक अभ्यास गराउनुभएको कार्यालय प्रमुख जोगेन्द्र कान्दुले जानकारी दिनुभयो ।
कार्यक्रमको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायव उपरीक्षक खिमलाल भट्टराईले साइबर सुरक्षा, साइबर अपराध नियन्त्रण, लागूऔषध दुरुपयोग तथा घरेलु हिंसा न्यूनीकरण जस्ता विषयमा गहन प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले दैनिक जीवनमा डिजिटल प्रविधिको सुरक्षित र सजग प्रयोग, सामाजिक सञ्जालबाट हुन सक्ने अपराधबाट जोगिने उपायहरू, लागूऔषधको दुरुपयोगले व्यक्ति, परिवार र सिंगो समाजमा पार्ने नकारात्मक असर तथा यसको रोकथाममा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिनुभयो ।
समापन समारोहका प्रमुख अतिथि पाल्पाका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले कर्मचारी तथा श्रमिकहरूको मनोबल उच्च राख्दै कार्यस्थलमा सकारात्मक सोच, उच्च जिम्मेवारीबोध र अनुशासनका साथ कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिकका अधिकार, कर्तव्य र दायित्वबारे प्रकाश पार्दै अनुशासित र कर्तव्यनिष्ठ नागरिकबाट नै सभ्य र समुन्नत समाज निर्माण सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमले कर्मचारी तथा श्रमिकहरूमा स्वास्थ्य सचेतना, सकारात्मक सोच, कार्यस्थलको अनुशासन र सामाजिक जिम्मेवारी अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको कार्यक्रम संयोजक तथा बागवानी विकास अधिकृत सुदिप देवकोटाले जानकारी दिनुभयो ।







