
पाल्पा । तानसेनमा असोज २२ देखि २४ गतेसम्म ‘लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ आयोजना हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सवले लुम्बिनी प्रदेशको कला, संस्कृति, पर्यटन र स्थानीय जीवनशैलीलाई पर्दा, संवाद तथा सांस्कृतिक प्रस्तुतिमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकमाझ पु¥याउने लक्ष्य आयोजकको रहेको छ ।
जिल्लामा पहिलो पटक कथा मन्डला काठमाडौंको अयोजन र सञ्चार मन्च पाल्पाको स्थानीय समन्वयमा हुन लागेको चलचित्र महोत्सवका विषयमा सरोकारबालासंग छलफल तथा अन्तरक्रिया गरिएको छ ।
महोत्सवमा नेपाली तथा अन्तर्राष्ट्रिय गरी २५ देखि ३० वटा फिचर, लघु तथा वृत्तचित्र प्रदर्शन गरिने छ । कलात्मक गुणस्तर, सामाजिक महत्व, मौलिक कथा, संस्कृति र पर्यटनसँग सम्बन्धित चलचित्रहरूलाई विशेष प्राथमिकता दिइने आयोजक संस्था कथामण्डलाका कार्यकारी निर्देशक पाण्डव खत्रीले जानकारी दिनुभयो । उहाँले चलचित्र प्रदर्शनपश्चात् निर्देशक, निर्माता, कथाकार तथा चलचित्रकर्मीहरूसँग दर्शकको प्रत्यक्ष संवाद र अनुभव आदानप्रदान कार्यक्रमसमेत रहने बताउनुभयो । “लुम्बिनी प्रदेशका बुद्ध जन्मस्थल लुम्बिनी, तानसेन, रानीमहल, कपिलवस्तु तथा बर्दिया राष्ट्रिय निकुञ्जजस्ता प्राकृतिक एवं सांस्कृतिक सम्पदाका साथै मगर, थारू, गुरुङ, कुमाल, मुस्लिम र नेवार समुदायका भाषा, संगीत तथा लोकसंस्कृतिलाई चलचित्रमार्फत अभिलेखीकरण र प्रवर्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको कार्यकारी निर्देशक खत्रीले बताउनुभयो । महोत्सवमा चलचित्रकर्मीबीच संवाद, ’चलचित्र र पर्यटन’, ’मौलिक कला–संस्कृति’ तथा ’चलचित्र र सिर्जनात्मक अर्थतन्त्र’ विषयमा विज्ञहरूसँग प्यानल छलफल, फोटो प्रदर्शनी, फोटोग्राफी तथा सिनेमाटोग्राफी कार्यशाला हुने उहाँले बताउनुभयो ।
त्यसैगरी, स्थानीय संयोजन संस्था सञ्चार मञ्च पाल्पाका अध्यक्ष माधवप्रसाद अर्यालले महोत्सवमा जनप्रतिनिधि, कलाकार, लगानीकर्ता, पर्यटन व्यवसायी, पत्रकार, युवा तथा सर्वसाधारणको सहभागिता रहने बताउनुभयो । “यस महोत्सवबाट स्थानीय कथा, संस्कृति र जीवनशैलीको प्रवर्धन हुनाका साथै स्थानीय युवा र सिर्जनाकर्ताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरूसँग सहकार्य गर्ने अवसर प्राप्त गर्ने अध्यक्ष अर्यालको भनाइ छ ।
तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले यस महोत्सवलाई चलचित्र प्रदर्शनमा मात्र सीमित नराखी कला, संस्कृति, पर्यटन र स्थानीय समुदायलाई जोड्ने एउटा प्रभावकारी सांस्कृतिक अभियानका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । जसका लागि तानसेन नगरपालिका सकारात्मक रहेको बताउनुभयो ।
यस महोत्सवले चलचित्रकर्मी, पर्यटक र लगानीकर्तालाई तानसेनमा आकर्षित गर्ने र त्यसबाट स्थानीय होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला तथा स्थानीय उत्पादनका क्षेत्रमा आर्थिक गतिविधि बढाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ । महोत्सव सफल बनाउनका लागि आयोजकले आर्थिक सहयोग तथा अवलोकनका लागि सहभागी भैदिनुहुन अनुरोध समेत गरेको छ ।
कार्यक्रममा सहभागी सरोकारवालाहरुले महोत्सव सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउदै आर्थिक पारदर्शितामा ध्यान दिन आग्रह समेत गरेका थिए ।







