
पाल्पा । निस्दी गाउँपालिकामा १५ शैयाको आधारभूत अस्पताल भवन उद्घाटन गरिएको छ । नागरिकहरूलाई गाउँमै सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको भवनको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले उद्घाटन गर्नुभएको हो ।
भवन उद्द्धाटन गर्दै मन्त्री पुनले सुविधा सम्पन्न भवन निर्माण भएसँगै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ठूलो सहजता हुने बताउनुभयो । नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच वृद्धिका लागि प्रदेश सरकार पूर्ण रूपमा गम्भीर रहेको उल्लेख गर्दै उहाँले अस्पताल भवनबाट तत्काल सेवा सञ्चालन गर्नका लागि प्रदेश सरकारका तर्फबाट एक जना चिकित्सक र स्टाफ नर्स पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति तथा प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले भौतिक पूर्वाधारको विकाससँगै गुणस्तरीय स्वास्थ्य सेवा जनताको घरदैलोसम्म पु¥याउनु नै समृद्धिको आधार रहेको बताउनुभयो । उहाँले निस्दीको स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउँदै लैजाने यात्रामा अस्पताल भवन एक महत्वपूर्ण उपलब्धि बनेको धारणा राख्नुभयो ।
यस्तै, गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले कठिन भौगोलिक बनावटका कारण सामान्य उपचारका लागि स्थानीय नागरिकले पाएको सास्तीलाई ध्यानमा राख्दै गाउँपालिकाले भवन निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । उहाँले गाउँमा आधुनिक स्वास्थ्य सेवा पु¥याउने गाउँपालिकाको प्रयासले क्रमिक रुपमा मूर्तरूप लिएको बताउनुभयो । यसका साथै अस्पताल निर्माणमा सहयोग पु¥याउने सम्पूर्ण सरोकारवालाहरूलाई अध्यक्ष सारुले धन्यवादसमेत व्यक्त गर्नुभयो ।
अस्पताल भवन रविना÷प्राकृतिक जे.भी. निर्माण कम्पनी रुपन्देहीले २०७८ जेठ १३ गते सम्झौता गरी चार पटक म्याद थप गरी २०८३ असार २१ गते निर्माण सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर चितौरेले बताउनुभयो । उहाँले भवन निर्माणमा कुल २० करोड ५ लाख ९२ हजार ५ सय ६० रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । जसका लागि संघीय सरकारबाट १६ करोड ९३ लाख ८४ हजार रुपैयाँ अनुदान र आन्तरिक स्रोतबाट ३ करोड १२ लाख ७ हजार रुपैयाँ बजेट व्यवस्थापन गरिएको प्रमुख प्रशासकीय अधिकृत चितौरेको भनाइ छ ।
दुई तले आरसीसी फ्रेम स्ट्रक्चरमा तयार गरिएको भवनमा कुल ५७ वटा कोठाहरू रहेको इन्जिनियर सञ्जय खनालले जानकारी दिनुभयो । उहाँले अस्पतालको मुख्य भौतिक संरचना निर्माण भइसकेको भए पनि फल्स सिलिङ, मार्बल जडान, पानीको ट्याङ्की, घेराबार, प्रवेशद्वार, शवगृह, गार्ड हाउस र प्लेसेन्टा पिटलगायतका बाँकी निर्माण कार्यका लागि करिब २ करोड रुपैयाँ बजेट आवश्यक रहेको बताउनुभयो ।
भवनमा अस्पतालको सेवा सुरु गरेपछि स्थानीय नागरिकहरूले आकस्मिक सेवा, शल्यक्रिया कक्ष (ओटी), प्रसूति कक्ष, बहिरङ्ग सेवा (ओपीडी), अन्तरङ्ग सेवा (आईपीडी) वार्डका साथै आधुनिक प्रयोगशाला र डिजिटल एक्स–रे तथा भिडियो एक्स–रे जस्ता महत्वपूर्ण स्वास्थ्य सेवाहरू प्राप्त गर्ने स्वास्थ्य शाखा प्रमुख रेम बहादुर दिशाले जानकारी दिनुभयो । उहाँले भवनमा आधुनिक विद्युतीय प्रणाली, एसी, फायर अलार्म तथा सुविधासम्पन्न स्यानिटरी प्रविधिहरू जडान गरिएको बताउनुभयो ।







