
पाल्पा । जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा गोष्ठी तानसेनमा सुरु भएको छ ।
दुई दिनसम्म चल्ने गोष्ठीको पहिलो दिन जिल्लाका आठ स्थानीय तह र केही संघीय र प्रदेश कार्यालय गरी १९ वटा कार्यालयले गत वर्ष सम्पादन गरेको कार्यप्रगति प्रस्तुत सकेका छन् । भोली जिल्लामा बाँकी रहेका सरकारी र सामाजिक संघसंस्थाको प्रस्तुति रहने जिल्ला समन्वय समिति पाल्पाका नायव सुब्बा मनोज आचार्यले जानकारी दिनुभयो ।
गोष्ठी लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरको प्रमुख आतिथ्यता र संघीय सांसद सन्दीप राना, प्रदेश सभा सदस्य वीरबहादुर राना, र खेमबहादुर सारु, इन्द्रा गहतराज, राजनीतिक दलका प्रमुख, पालिका प्रमुख, प्रजिअ, उपप्रमुख, कार्यालय प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायतको उपस्थितिमा चलेको छ ।
गोष्ठीमा विगतका वर्षमा जस्तै आम्दानी र खर्चको विवरण प्रस्तुत गरिएको छ । कार्यक्रमको मुख्य उपलब्धि, काम गर्दा आइपरेको समस्या, चुनौती र समाधानका उपाएका विषयमा छलफल हुनुपर्नेमा हतारमा प्रस्तुति राख्ने काम भएको छ ।
गोष्ठी जिल्ला समन्वय समिति उपप्रमुख काशीका गैरेको स्वागत , प्रमुख टंकनाथ खनालको अध्यक्षता र शाखा प्रमुख दीपक नेपालीको संचालनमा चलेको गोष्ठीमा सबै प्रस्तुति सकिएपछि छलफल गरिने योजना रहेको आयोजकको भनाइ छ ।







