पाल्पा ग्याँस डिलर्स संघको अध्यक्षमा पुनः पौड्याल निर्वाचित

पाल्पा । पाल्पा ग्याँस डिलर्स संघको १३ औं साधारण सभा तथा छैठौं अधिवेशनबाट पर्शुराम पौड्याल पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । तानसेनस्थित होटल गौरीशंकरमा सम्पन्न अधिवेशनले पौड्यालको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । जसको उपाध्यक्षमा अजय बहादुर श्रेष्ठ, सचिवमा उमेश राज शाक्य, कोषाध्यक्षमा विष्णु बहादुर जि.सी., सह–सचिवमा भुपेन्द्र के.सी. र सदस्यहरू राजेश प्रसाद श्रेष्ठ, विष्णु पौडेल, चेउ नारायण बस्याल, अनवर अलि, विष्णु थापा र राम बहादुर श्रेष्ठ रहनुभएको छ ।

अधिवेशनमा संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पौड्यालले रुस–युक्रेन युद्ध तथा मध्यपूर्वको अशान्तिका कारण सिर्जित अन्तर्राष्ट्रिय संकटले ग्याँस आपूर्ति र मूल्यमा पारेको असरबारे जानकारी गराउनुभयो । उहाँले । राज्यको नीति तथा ग्याँस उद्योगहरूको मनोमानीका बाबजुद डिलरहरूले करिब ३ प्रतिशतको सीमित मुनाफामा रहेर घरभाडा, बैंक ब्याज र कर्मचारीको खर्च धान्नुपरेको बताउनुभयो । डिलर कमिसन वृद्धि गर्न र अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न नेपाल आयल निगम तथा माथिल्लो निकायसँग अध्यक्ष पौड्यालले माग गर्नुभयो । ग्याँस उद्योगहरूले पुरानो डिलरलाई विस्थापित गर्ने र विना मापदण्ड नयाँ डिलर खडा गर्ने प्रवृत्तिविरुद्ध संघले कडा कदम चाल्ने उहाँको भनाइ थियो । साथै आगामी दिनमा डिलर प्रमाणीकरण र उपभोक्ता कार्ड वितरण प्रणालीलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही अवसरमा व्यवसायी कल्याण तथा सामाजिक दायित्वअन्तर्गत संघका सदस्यहरूको दुर्घटना तथा स्वास्थ्य बिमा २ लाखबाट बढाएर ३ लाख रुपैयाँ बनाउनुका साथै सदस्यको दम्पती निधन भएमा किरिया खर्चबापत दश हजार राहत उपलब्ध गराउने र उत्कृष्ट अंक ल्याउने सदस्यका छोराछोरीलाई सम्मान गर्ने योजना बारे जानकारी गराइएको थियो ।

सभाको अवसरमा संघका तर्फबाट भोटेकोशी बाढीपीडितका लागि २५ हजार ५५१ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिनुका साथै उत्कृष्ट ग्याँस विक्रेता, दीर्घसेवी मजदुर तथा सहयोगी विज्ञापनदाताहरूलाई सम्मान गरिएको संघले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय