करोडौँको ल्यान्डफिल साइट १३ वर्षदेखि प्रयोगविहीन

पाल्पा । तानसेन नगरपालिका–५ शिवपोखरी सम्मोबारीमा करोडौँ रुपैयाँको लागतमा निर्माण गरिएको सेनेटरी ल्यान्डफिल साइट १३ वर्षदेखि प्रयोगविहीन बनेको छ । तानसेनमा दैनिक उत्पादन हुने फोहोर व्यवस्थापनका लागि २०६९ सालमा निर्माण सम्पन्न भएको उक्त साइट सञ्चालनमा नगरपालिकाले बेवास्ता गर्दा अहिले अस्तव्यस्त बनेको छ । निर्माण गरिएका संरचनाहरु काम लाग्ने अवस्थामा छैनन् । संरक्षणका लागि गरिएको साइट वरपरको तारबार र प्रवेशद्धार भत्किएको छ । यसका साथै साइटको हेरचाहका लागि खटिने कर्मचारीका लागि निर्माण गरिएको गार्ड घर जीर्ण अवस्थामा पुगेको छ ।

एक करोड ६१ लाख लागतमा निर्माण गरिएको सेनेटरी ल्याण्ड फिल्ड साइट २०६९ असोज २५ गतेदेखि सञ्चालनमा आएको थियो । स्थानीय वडाबासीसंग तत्कालिन र दीर्घकालीन महत्वका विषयमा नगरपालिकाले २५ बुँदे सहमति गरेर सञ्चालनमा ल्याइएको सेनेटरी ल्याण्ड फिल्ड साइट सहमति विपरित ल्याण्डफिल्डका रुपमा प्रयोग गरेकोले स्थानीयले करिब एक वर्ष नपुग्दै २०७० असोज ३ गतेदेखि बन्द गराएका थिए । छेउमै वनभोज खान मिल्ने अवस्था हुने भनेर सञ्चालन सहमति जुटाएर सुरु गरेको नगरपालिकाले जथाभावी फोहोर फाल्दा प्रदुषण बढ्नुका साथै नागरिकको घरमा झिँगाका साथै कागले हड्डी समेत लैजान थालेपछि साइट बन्द गर्नुपर्ने अवस्था आएको स्थानीय प्रेमबहादुर विश्वकर्माले बताउनुभयो ।

तत्कालिन समयमा जनप्रतिनिधि नभएको अवस्थामा सर्वेसर्वा बनेका कर्मचारीहरुले बन्द अवस्थामा रहेको साइटप्रयोगमा खासै पहल गरेनन् । २०७४ सालमा स्थानीय तहको निर्वाचनपछि तानसेनमा निर्वाचित नगर प्रमुख अशोककुमार शाहीको नेतृत्वले पनि साइट प्रयोगका विषयमा खासै छलफल गरेन । यस्तै स्थानीय तहको दोस्रो निर्वाचन पछि आएको सन्तोषलाल श्रेष्ठको नेतृत्वले पनि चार वर्ष बढी समय वितिसक्दा पनि यो साइटको प्रयोगका विषयमा चासो नदिएको स्थानीयको आरोप छ ।

तर तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाला श्रेष्ठले भने प्रभावित क्षेत्रका जनतासंग पटक पटक समन्वय र छलफल गरिएको भएपनि उपलब्धि शून्य भएको बताउनुभयो । उहाँँले नगरपालिकाले प्रयास गरिरहेको बताउनुभयो । यसका अलबा अहिलेको वनदेवी क्षेत्रमा अल्पकालीन रुपमा प्रभावकारी व्यवस्थापन गर्ने गरी योजना अगाडि सारिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले तानसेन नगरपालिकाको फोहोरको दीर्घकालीन व्यवस्थापनका विषयमा नगर सरकार गम्भीर रहेको बताउनुभयो ।

सेनेटरी ल्याण्डफिल्ड साइट बन्द भएपछि तत्काल विकल्पका रुपमा देउराली सामुदायिक वन उपभोक्ता समितिको मातहतमा पर्ने वनदेवी क्षेत्रको जंगलमा अहिलेसम्म फोहोर विसर्जन गर्दै आइरहेको छ । यस क्षेत्रमा फोहोर फाल्दा माथिल्लो बस्तीमा प्रदुषण हुनुका साथै तल्लो भागका जनताले प्रयोग गर्ने खानेपानी र सडकमा समस्या आइरहेको छ । यस विषयमा समय समयमा वन उपभोक्ता समिति विरोधमा उत्रने गरेको छ । तर नगरपालिकाले आफ्नै करोडौँको संरचना सञ्चालनमा ध्यान नदिई समितिसँग अल्पकालीन सहमति गर्दै फोहोर फालिरहेको छ । यस क्षेत्रमा अदालतले जनस्वास्थ्यमा प्रतिकुल असल पर्ने गरी फोहोर नफाल्न तानसेन नगरपालिकालाई आदेश पनि गरेको छ ।

(मिति २०८३ अशोज ५ गते करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय