
पाल्पा । नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखाको आयोजना र चापपानी उपशाखाको सहकार्यमा बगनासकाली गाउँपालिकामा एकदिने डेंगु रोकथाम तथा नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा रेडक्रस पाल्पाका जिल्ला सभापति बाबुराम कार्कीले “पछिल्लो समय तराईका साथै पहाडी जिल्लाहरूमा पनि डेंगु संक्रमण तीव्र रूपमा फैलिरहेकाले समयमै सचेत हुनु जरुरी रहेको बताउनुभयो । घरवरिपरि कतै पनि पानी जम्न नदिई सरसफाइमा ध्यान दिन सके यसबाट सहजै जोगिन सकिन्ने उहाँको भनाइ थियो । रेडक्रसले सधैं सर्वसाधारणको जीवन रक्षाका लागि काम गर्दै आएको उल्लेख गर्दै डेंगुजस्ता महामारीबाट सर्वसाधारणलाई जोगाउन गाउँ–गाउँमा सचेतना कार्यक्रम ल्याइएको सभापति कार्कीले बताउनुभयो ।
कार्यक्रमको प्रशिक्षण सत्रमा जिल्ला शाखा अधिकृत विनोद भारतीले डेंगु सार्ने लामखुट्टेको पहिचान, रोगका लक्षण, रोकथामका उपाय र सङ्क्रमित हुँदा अपनाउनुपर्ने सावधानीबारे सहजीकरण गर्नुभएको थियो । उहाँले यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम विकल्प रहेकोले लामखुट्टेको वृद्धि विकास हुने सफा पानी जम्ने स्थलहरुमा प्रत्यक हप्ता सरसफाई गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सहभागीहरूले सिकेका ज्ञान र सीपलाई आ–आफ्नो टोल र समुदायस्तरसम्म पुरÞ्याएर डेंगु नियन्त्रणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
चापपानी उपशाखाका सभापति युवराज ढकालको अध्यक्षता, उपशाखा उपसभापति पम्फा गौतमको स्वागत र सचिव गोपबहादुर क्षेत्रीको सञ्चालनमा बगनासकाली गाउँपालिका–९, चापपानीस्थित मालारानी बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा सञ्चालित कार्यक्रममा स्थानीय महिला स्वास्थ्य स्वयंसेविका र रेडक्रस स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।







