
पाल्पा । निस्दी गाउँपालिका, पाल्पाले राष्ट्रिय शिक्षा दिवसको अवसरमा शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयहरूलाई सम्मान गरेको छ । गाउँपालिकाद्वारा आयोजित विशेष समारोहमा विभिन्न तहका परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल ६७ जना विद्यार्थी, २५ जना शिक्षक र ५ वटा विद्यालयलाई नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरिएको हो ।
गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले शिक्षा नै विकासको मूल आधार भएकाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका साथै विद्यार्थीको प्रतिभा र शिक्षकको योगदानलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो । निस्दीको शैक्षिक उन्नयनका लागि गाउँपालिका, विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीबिच सुदृढ सहकार्य आवश्यक रहेको धारणा उहाँको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश उद्योग तथा पर्यटन विकास समितिका सभापति एवं प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले शिक्षामा गरिएको लगानीले व्यक्तिको मात्र नभई समाज र समग्र क्षेत्रको उज्ज्वल भविष्य निर्माण गर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई अध्ययनसँगै सिर्जनशील, अनुशासित र जिम्मेवार नागरिक बन्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । ग्रामीण क्षेत्रमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न स्थानीय तह, प्रदेश सरकार र समुदायबिच सहकार्य हुनुपर्ने सभापति श्रेष्ठको भनाइ थियो ।
त्यस्तै, गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र अभिभावकको सहयोगकै कारण शैक्षिक क्षेत्रमा सकारात्मक परिणाम देखिन थालेको बताउनुभयो । यस सम्मानले विद्यार्थी र शिक्षकलाई थप उत्साहित बनाउँदै आगामी दिनमा अझ राम्रो उपलब्धि हासिल गर्न प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गनुृभयो ।
सामाजिक विकास समितिका संयोजक एवं निस्दी–६, अर्चलेका वडा अध्यक्ष मेख बहादुर सुनारीले शिक्षाको गुणस्तर सुधारलाई स्थानीय सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले सम्मान कार्यक्रमले प्रतिस्पर्धात्मक भावना बढाउनुका साथै लगनशील बन्न प्रोत्साहन मिल्ने बताउनुभयो ।
सम्मान कार्यक्रम अन्तर्गत कक्षा ३ र ५ को उपलब्धि परीक्षामा उत्कृष्ट ३ जना, आधारभूत तह उत्तीर्ण परीक्षामा ३१ जना, एसईई परीक्षामा १९ जना र माध्यमिक तह (कक्षा १२) मा उत्कृष्ट १४ जना गरी जम्मा ६७ जना विद्यार्थीलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको थियो । यसका साथै, उत्कृष्ट कार्यसम्पादन गर्ने २५ जना शिक्षक र शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने ५ वटा विद्यालयलाई पनि सोही अवसरमा सम्मानित गरिएको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर चितौरेले जानकारी दिनुभयो ।
राष्ट्रिय शिक्षा दिवसकै अवसरमा आयोजित माध्यमिक तहस्तरीय वादविवाद प्रतियोगितामा ११ समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा बालहित माध्यमिक विद्यालय (निस्दी–२) की भूमिका समाल प्रथम, लक्ष्मी माध्यमिक विद्यालय (निस्दी–३) की प्रिया आले द्वितीय र गौरीशंकर माध्यमिक विद्यालयकी सृष्टि सुनारी तृतीय भएको शिक्षा, युवा तथा खेलकुद शाखा संयोजक कविता पोखरेलले जानकारी दिनुभयो ।







