
पाल्पा । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाल्पाको आयोजनामा निस्दी गाउँपालिकामा ‘स्वच्छ दूध, मासु तथा माछा उत्पादन र विक्रेतासँग अभिमुखीकरण’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उत्पादनदेखि बिक्री–वितरणसम्म स्वच्छता कायम गरी उपभोक्ताको स्वास्थ्य रक्षा गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय उत्पादक, व्यवसायी तथा सरोकारवालाहरूको उपस्थिति रहेको विज्ञ केन्द्रले जनाएको छ ।
कार्यक्रममा विषयगत प्रस्तुति राख्दै पशु चिकित्सक डा. अशेष काफ्लेले नेपालको स्वच्छ खाद्य उत्पादनको वर्तमान अवस्था, विद्यमान खाद्य ऐनका कानुनी प्रावधान तथा स्वच्छ एवं गुणस्तरीय दूध, अण्डा र माछामासु उत्पादन र बिक्री वितरण गर्ने प्राविधिक विधिहरूबारे सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. नवीन बस्यालले खाद्य सुरक्षा र स्वच्छताका विषयमा उत्पादक तथा विक्रेताहरू अझै पूर्ण रूपमा सचेत हुन नसकेको बताउनुभयो । दूध, अण्डा, माछा र मासु छिट्टै बिग्रिने अति संवेदनशील खाद्यवस्तु भएकाले यस्ता वस्तुको लापरबाहीबाट मानिसमा रोग सर्ने उच्च जोखिम रहने उहाँले बताउनुभयो । ‘ कृषकको गोठदेखि उपभोक्ताको ओठसम्म’को सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै डा. बस्यालले उत्पादन वा बिक्रीका क्रममा हुने सानो गल्तीले पनि सोझै उपभोक्ताको स्वास्थ्यमा गम्भीर समस्या ल्याउन सक्ने भएकाले सम्बद्ध सबै पक्ष इमान्दार हुनुपर्नेमा जोड दिनुभयो ।
सोही अवसरमा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले विक्रेताहरूले खरिद, भण्डारण र बिक्री–वितरणमा थोरै मात्र सजगता अपनाएमा पनि उपभोक्ताको स्वास्थ्यमा ठूलो फाइदा पुग्ने बताउनुभयो । व्यवसायीहरू नाफामुखी मात्र नभई उपभोक्ताको जीवन र स्वास्थ्यप्रति उत्तिकै जिम्मेवार र जवाफदेही हुनुपर्नेमा उहाँले जोड दिनुभयो । गाउँपालिका उपभोक्ताको स्वास्थ्यप्रति सजग रहेको बताउदै अध्यक्ष सारुले व्यवसायीहरुको आवश्यकता र माग अनुसारका कार्यक्रम सञ्चालन गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।







