
पाल्पा । निस्दी गाउँपालिका–६, अर्चले स्थित गोरखनाथ माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अर्जुन बयम्बु सर्वसम्मत रूपमा चयन हुनुभएको छ । विद्यालयमा आयोजित अभिभावक भेलाले बयम्बुको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरेको हो ।
शिक्षा ऐनको दशौँ संशोधनमा रहेको व्यवस्थाअनुसार नवगठित समितिको सदस्यहरूमा योमाया मश्राङ्गी, गितान्जली राना र यम बहादुर बयम्बु चयन हुनुभएको छ । त्यसैगरी, शिक्षक प्रतिनिधिमा मनोज मश्राङ्गी र सदस्य–सचिवमा विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद अर्याल रहनुभएको छ । सम्बन्धित वडाबाट प्रतिनिधित्व गर्ने पदेन सदस्य पछि मनोनीत गरिने विद्यालयले जनाएको छ ।
यसैबीच अभिभावक भेलाले लिमी सरा रानाको अध्यक्षतामा नयाँ शिक्षक अभिभावक संघ समेत गठन गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै निस्दी गाउँपालिका–६ का वडाध्यक्ष मेख बहादुर सुनारीले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास र समग्र सुधारका लागि शिक्षक, अभिभावक, विद्यार्थी, व्यवस्थापन समिति तथा समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले नयाँ नेतृत्वले विद्यालयका आवश्यकता र प्राथमिकताहरू पहिचान गरी सक्रिय रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै विद्यालयको विकासका लागि वडा तहबाट आवश्यक बजेट, नीतिगत समन्वय र निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै, निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश रानाले आफ्नो कार्यकालमा विद्यालयको भौतिक तथा व्यवस्थापकीय विकासमा सहयोग पु¥याउने शिक्षक, अभिभावक, विद्यार्थी र सम्पूर्ण समुदायप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिँदै आगामी दिनमा पनि आफ्नो तर्फबाट आवश्यक सहयोग र सहकार्य निरन्तर रहने बताउनुभयो ।







