गुणस्तरीय जीवनका लागि परिवार योजना

पाल्पा । गुणस्तरीय जीवनका लागि परिवार योजना आवश्यक रहेको तानसेनमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले १३ औं राष्ट्रिय परिवार योजना दिवस तथा संघको ६७ औं स्थापना दिवसमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले सुरक्षित प्रजनन् स्वास्थ्य र परिवार योजनाको पहुँचबारे छलफल गर्दै यस्तो कुरामा जोड दिएका हुन ।

कार्यक्रममा विपद् वा संकटको समयमा पनि परिवार योजना सेवाको निरन्तरता र पहुँच सुनिश्चित गर्दै मातृ तथा नवजात शिशु मृत्युदर घटाउन यस दिवसको विशेष महत्व रहेको नेपाल परिवार नियोजन संघ पाल्पाका शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले जानकारी दिनुभयो । उहाँले दिवसको पृष्ठभूमि बारे बताउदै संस्थाले प्रदान गर्दै आएका सेवा, परामर्श र आगामी दिनमा सेवालाई थप प्रभावकारी र दायरा फराकिलो बनाउने विषयमा जानकारी गराउनुभयो ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले व्यवस्थित परिवार निर्माणका लागि प्रजनन् स्वास्थ्यको विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । अझै पनि ग्रामीण तथा पहुँचविहीन समुदायमा प्रजनन् स्वास्थ्यबारे पर्याप्त सचेतना पुग्न नसकेको बताउदै उहाँले व्यवस्थित र सुखी परिवार निर्माणमा सहयोग पुग्ने गरी तल्लो तहसम्म कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढाकालले आफ्नो परिवार कति र कस्तो बनाउने भन्ने योजना निर्माण दम्पतीको अधिकार र दायित्व दुवै भएको बताउनुभयो । स्वस्थ परिवार र सभ्य समाज निर्माणका लागि परिवार नियोजन अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले अनिच्छुक गर्भधारण रोक्न प्रजनन् स्वास्थ्य सचेतना आवश्यक रहेको बताउनुभयो । नेपालको संविधानले प्रजनन् स्वास्थ्यलाई मौलिक हकका रूपमा ग्यारेन्टी गरेको सन्दर्भ जोड्दै प्रमुख ढकालले विपद् वा जुनसुकै अवस्थामा पनि गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संघका कार्यवाहक सभापति माधवप्रसाद अर्यालले जुनसुकै अवस्था वा परिस्थितिमा पनि परिवार योजना सेवा निरन्तर आवश्यक पर्ने बताउनुभयो । गुणस्तरीय जीवनयापन र सबल परिवारका लागि योजनाबद्ध रूपमा परिवार व्यवस्थापन गर्नुपर्ने बताउदै उहाँले संघले जिल्लाका स्थानीय तह, स्वास्थ्य संस्था, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै विभिन्न सचेतनामूलक तथा सेवामूलक गतिविधि अगाडि बढाइरहेको जानकारी गराउनुभयो ।

सन् १९५९ सेप्टेम्बर १८ मा नेपाल परिवार नियोजन संघको स्थापना भएको दिनलाई नेपाल सरकारले २०७१ सालदेखि हरेक वर्ष असोज २ गते यो दिवसका मनाउदै आएको छ । यस वर्ष ‘विपत् होस् या सामान्य अवस्था, परिवार योजना सबैको आवश्यकता’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो

सम्बन्धित खवर