ओभरलोडले जीर्ण बन्यो बाइपास सडक

पाल्पा । बर्तुङ–तानसेन–रिडी–तम्घास राजमार्गअन्तर्गत तानसेन नगरपालिका–५ स्थित बाइपास क्षेत्रको होलाङ्दी–ढुङ्गाखानी सडकखण्ड जीर्ण बन्दा यात्रु तथा स्थानीय बासिन्दाले सास्ती खेप्नुपरेको छ । सडकको तोकिएको भारवहन क्षमताभन्दा बढी भार बोक्ने टिपरहरूको बाक्लो आवतजावतका कारण मर्मतसम्भार गरिएलगत्तै सडक पुनः बिग्रिने गरेको हो । कालोपत्र गरिएको सडक अहिले ठाउँ–ठाउँमा भत्किएर ठूला–ठूला खाल्डाखुल्डीमा परिणत भएको छ भने कालोपत्र नै भासिएपछि सडक यात्रा जोखिमपूर्ण बनेको स्थानीय सुदिप खत्रीले बताउनुभयो ।

सडकको दुरावस्थाका कारण वर्षातको समयमा हिलो र हिउँदमा धुलोको समस्याले पैदलयात्री तथा साना सवारीसाधन सञ्चालनमा निकै कठिनाइ भइरहेको छ । यो राजमार्ग भएर सीजी सिमेन्ट र सर्वोत्तम सिमेन्टका लागि कच्चा पदार्थ तथा सामग्री बोक्ने ओभरलोड टिपरहरू दैनिक रूपमा ठूलो संख्यामा गुड्ने गर्दछन् । जिल्लामा सवारीसाधनको तौल मापन गर्ने धर्मकाँटा छैन । जसको फाइदा उठाउदै ओभरलोड बोक्ने गरिएको छ । यस विषयमा नियमनकारी निकायसमेत मौन बस्दै आएको पत्रकार माधवप्रसाद अर्यालले बताउनुभयो ।

विगतमा अन्न उब्जनी हुने उर्वर भूमि निःशुल्क उपलब्ध गराएर सडक विस्तारमा सहयोग गरेका स्थानीय नागरिकहरू अहिले विकासको प्रतिफल पाउनुको सट्टा धुलो र हिलो खान बाध्य भएका छन् । नेकपाका जिल्ला संयोजक नेत्रप्रसाद पाण्डेले जग्गा दिएर सडक बनाउन सघाएका नागरिकहरूले सार्वजनिक यातायातको सुविधा उपभोग गर्न नपाउनु दुःखद भएको बताउनुभयो । उहाँले आफ्नै निजी सवारीसाधनसमेत सहज रूपमा चलाउन नसकिने गरी सडक क्षतिग्रस्त बनेको भन्दै यसको तत्काल मर्मत र दिगो समाधानका लागि सम्बद्ध निकाय पूर्ण रूपमा जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

यस सडकको भारवहन क्षमता १० टनसम्म मात्रै हो । तर, क्षमताभन्दा बढी भार बोकेका सवारीसाधन निरन्तर गुड्दा सडकको संरचना बिग्रने गरेको सडक डिभिजन कार्यालय, पाल्पाका निमित्त प्रमुख पवित्रमणि आचार्यले बताउनुभयो । उहाँले सडक साँघुरो हुनु, घुम्तीहरू सुधार नगरिनु र क्षमताभन्दा बढी तौलका सवारीसाधन अनियन्त्रित रूपमा सञ्चालन हुनु नै सडक जीर्ण हुनुको प्रमुख कारण रहेको बताउनुभयो ।

चालु आर्थिक वर्षमा यस सडक खण्ड सुधारका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन गरी ठेक्का प्रक्रिया अगाडि बढाइएको थियो । तर, सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय बोलपत्र प्रणालीमा आएको प्राविधिक समस्याका कारण ठेक्का प्रक्रिया रद्द गर्नु परेको र त्यसपछि कार्यालय प्रमुख नहुँदा ठेक्का प्रक्रिया पुनः अगाडि बढाउन समस्या भएको निमित्त प्रमुख आचार्यको भनाइ छ । उहाँका अनुसार आर्थिक वर्ष २०८३/८४ मा अन्तसम्ममा होलाङ्दीदेखि बाइपास हुँदै रिडीसम्मको घुम्ती सुधार, सडक चौडा गर्ने, ढलान तथा कालोपत्र मर्मत र टेवा पर्खाल निर्माणको कामसम्पन्न गरी सडक सुधार गरिने बताउनुभयो ।

( मिति २०८३ अशाेज १ गते करूवा अर्धसाप्तािहक पत्रिकामा प्रकाशित समाचार)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय