
पाल्पा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाल्पाले १३ लाख ३७ हजार २ सय २ रुपैयाँ राहत रकम सङ्कलन गरी सम्बन्धित कोषमा जम्मा गरेको छ ।
गत भाद्र १० गते बिहान भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति प्याब्सन पाल्पाले गहिरो दुःख व्यक्त गर्दै राष्ट्रिय विपत्तिको यस पीडादायी समयमा ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बाढीका कारण घरबारविहीन, प्रभावित तथा घाइते नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
देशमा आइपरेको विषम परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै प्याब्सन पाल्पाअन्तर्गतका सदस्य विद्यालय, शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट स्वतःस्फूर्त रूपमा राहत रकम सङ्कलन गरिएको हो। विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यालय तहबाटै मानवीय सहयोगको भावना अभिवृद्धि गर्ने गरी रकम सङ्कलन गरिएको प्याब्सन पाल्पाले जनाएको छ ।
सङ्कलित रकममध्ये प्याब्सन केन्द्रीय कार्यालयको ‘प्याब्सन रिलिफ फन्ड ’ मार्फत प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा हुने गरी १२ लाख ७५ हजार ६ सय ९७ रुपैयाँ र बाँकी ६१ हजार ५ सय ५ रुपैयाँ प्रत्यक्ष रूपमा प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिएको हो ।
प्याब्सन पाल्पाका अध्यक्ष डाँसुराम पन्तले विपत्तिको कठिन घडीमा पीडित नागरिकलाई सहयोगको हात बढाउनु सबैको मानवीय दायित्व भएको बताउनुभयो । उहाँले संस्थागत रूपमा गरिएको सानो प्रयासले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा केही सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “हाम्रो यो सानो संस्थागत प्रयासले बाढीबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको राहत तथा पुनःस्थापनामा थोरै भए पनि मलमपट्टी लगाउन सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौँ,” उहाँले भन्नुभयो।
त्यस्तै, प्याब्सन पाल्पाका सचिव गंगा बहादुर खत्रीले विपद्को समयमा ऐक्यबद्धता जनाउँदै स्वतःस्फूर्त रूपमा सहयोग गर्ने सम्पूर्ण सदस्य विद्यालय, शिक्षक, कर्मचारी तथा विद्यार्थीप्रति आभार व्यक्त गर्नुभयो। “सामाजिक र मानवीय भावना जागृत गराउनु पनि शिक्षाको महत्त्वपूर्ण अङ्ग हो। भविष्यमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यमा प्याब्सन पाल्पा सधैँ अग्रपङ्क्तिमा रहनेछ,” सचिव खत्रीले बताउनुभयो ।







