
तानसेन । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये पाल्पामा डेंगी संक्रमण उच्च भएपनि परीक्षण मूल्यमा भने एकरुपता नभएको गुनासो बढेको छ । जिल्लाका अस्पताल र स्वास्थ्य संस्था अनुसार परीक्षण मूल्य फरक फरक र बढी तिर्नु परेको बिरामीको गुनासो गरेका छन् । उनीहरुले एउटै खालको परीक्षणमा स्वास्थ्य संस्था अनुसार फरक मूल्य लिने गरेको भएपनि नियमनकारी निकाय मौन रहेको बताएका हुन । तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले प्रयोगशालाको दररेट नियमन गर्ने अधिकार आफूहरुलाई नभएको बताउनुभयो । उहाँले जिल्लामा दररेट नतोकिएकोले संस्था अनुसार फरक मूल्य लिएको हुनसक्ने बताउनुभयो ।
२०८२ पौष महिनाको १५ गतेदेखि बुधबारसम्म पाल्पामा ३ सय २२ जना डेंगी संक्रमित फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो । यो संख्या पाल्पा अस्पताल, रामपुर अस्पताल, युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा परीक्षण गरिएका बिरामीहरूको मात्र रहेको उहाँले बताउनुभयो । जिल्लाका अन्य स्वास्थ्य संस्था, निजी क्लिनिक तथा प्रयोगशालाहरूको तथ्यांक यसमा समावेश नगरिएकाले वास्तविक संक्रमितको संख्या यो भन्दा अझ धेरै हुन सक्ने स्वास्थ्य कार्यालयको अनुमान छ ।
यस रोगको कुनै निश्चित औषधि नभएकाले संक्रमित बिरामीहरूको लक्षणका आधारमा व्यवस्थापन र उपचार मात्र गरिने स्वास्थ्य कार्यालयका सूचना अधिकारी तथा सिनियर ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराईले बताउनुभयो । त्यसैले यसबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु नै प्रमुख उपाय भएको उहाँको भनाइ छ । नेपालमा डेंगी प्रमाणित भएको २२ वर्ष पुगिसकेको र पाल्पामा पछिल्लो समय संक्रमणको दर क्रमिक रुपमा वृद्धि हुर्दै गएको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो । डेंगी मुख्यगरी एडिस एजिप्टाई जातको पोथी संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने उहाँको भनाइ छ । उज्यालो समयमा टोक्ने यो लामखुट्टेका अण्डाहरू पानीविना पनि महिनौंसम्म जीवित रहन सक्छन् । संक्रमित लामखुट्टेले पार्ने सबै अण्डाबाट जन्मने बच्चा लामखुट्टे पनि संक्रमित नै हुने भएकाले यसको जोखिम उच्च रहने स्वास्थ्यकर्मीहको भनाइ छ । उनीहरुले डेंगी संक्रमण भएमा उच्च ज्वरो आउने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, ढाड, हाडजोर्नी तथा मांसपेशीमा पीडा हुने, शरीरमा राता विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने र नाक वा गिजाबाट रगत बग्ने जस्ता लक्षणहरू देखा पर्ने बताएका छन् ।
डेंगीको रोकथामका लागि सफा पानी जम्न सक्ने स्थलहरू जस्तै ग्यारेज, कबाडी संकलन केन्द्र, र वर्कसपहरू, घर वरपर पानी जम्ने स्थान, पानीका ट्याङ्की, गमलालगायतका स्थानमा हरेक हप्ता सरसफाई गर्नुपर्ने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जसका लागि स्थानीय तह र स्वास्थ्य कार्यालयले विगतदेखि नै लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई समुदायस्तरमा सञ्चालन गर्दे आएको छ ।
(मिति २०८३ भदौं २५ गते बिहीबार करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)







