
पाल्पा । नेपाल सरकारले लोककल्याणकारी विज्ञापनको रकममा आधाभन्दा बढी कटौती गर्ने गरी ल्याएको नयाँ कार्यविधिको विरोध गर्दै नेपाल पत्रकार महासंघ पाल्पा शाखाले विज्ञापन बोर्डलाई ज्ञापन पत्र पठाएको छ ।
महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाको नेतृत्वमा गएको टोलीले जिल्ला हुलाक कार्यालय पाल्पाका प्रमुख अर्जुन चौधरीमार्फत ज्ञापन पत्र पठाएको हो । ज्ञापन पत्र बुझ्दै हुलाक कार्यालयका प्रमुख चौधरीले प्राप्त ज्ञापन पत्र तत्काल विज्ञापन बोर्ड, बबरमहल काठमाडौँमा पठाउने प्रतिबद्धता जनाउनुभयो ।
सरकारले कार्यान्वयनमा ल्याएको ‘छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ ले देशभरका छापा माध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने गलत मनसाय राखेको महासंघको ठहर गर्दे आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ । बोर्डले नै विज्ञापन प्रकाशन गरेबापत बिल नबुझ्ने गरी जारी गरेको परिपत्रका आधारमा उत्पन्न विवाद समाधान नभएसम्म कुनै पनि छापामाध्यमको बिल नबुझ्न र हुलाक कार्यालयमा पनि सोही व्यवस्था मिलाउन ज्ञापन पत्रमा माग गरिएको छ ।
कार्यक्रममा महासंघका निर्वतमान अध्यक्ष रेखीराम राना, पूर्व अध्यक्षद्वय गोविन्दप्रसाद भट्टराई र झपेन्द्र गहिरेले स्वरोजगारमूलक र स्थानीय छापा माध्यमलाई धराशायी बनाउने सरकारी नीतिको कडा प्रतिवाद गरिने बताउनुभयो । उहाँहरुले माग सम्बोधन नभए विज्ञापन बोर्ड विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । महासंघका सचिव रामचन्द्र रायमाझीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पाल्पाका छापा सञ्चार माध्यमका सञ्चालक तथा सम्पादकहरूको उपस्थिति रहेको थियो ।







