पाल्पामा २०७औँ विजयोत्सव, निकालियो भगवती रथजात्रा

पाल्पा । बुटवलको जितगढीमा अङ्ग्रेज सेनामाथि नेपाली सेनाले हासिल गरेको ऐतिहासिक विजयको स्मरणमा पाल्पामा शनिबार २०७ औँ विजयोत्सवका रूपमा भगवती रथजात्रा निकालिएको छ ।

कृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात् भाद्र कृष्ण नवमीका दिन मनाइने रथजात्रामा पाल्पाका विभिन्न स्थानबाट आएका श्रद्धालु तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । वीरता, राष्ट्रियता र स्वाधीनताको प्रतीकका रूपमा मनाइँदै आएको यो जात्रा पाल्पाको धार्मिक तथा सांस्कृतिक पहिचानसँगै नेपालको राष्ट्रिय इतिहाससँग जोडिएको छ ।

शनिबार दिउँसोेको शुभसाइतमा रथ उठाइएको थियो । त्यसअघि भगवती मन्दिरमा धार्मिक विधिअनुसार पूजाआजा गरिएको थियो । रथ उठाएपछि नेपाली सेनाले सलामी दिएको थियो भने भगवतीको रथलाई मन्दिरको तीन पटक परिक्रमा गराइएको भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले बताउनुभयो ।

मन्दिर परिक्रमा गराएपछि पाल्पास्थित नेपाली सेनाका गणपतिले पूजाआजा तथा बलि दिएका थिए। नेपाल सरकारका तर्फबाट प्रमुख जिल्ला अधिकारीले पाल्पा दरबार परिसरमा विशेष पूजाआजा तथा बलि दिने परम्परा रहेको छ । भगवती मन्दिरबाट सुरु भएको रथयात्रा तानसेन बजारका विभिन्न भाग परिक्रमा गरी पुनः मन्दिर परिसरमा पुगेको थियो।

जितगढी युद्धमा नेपाली सेनाको विजयपछि तत्कालीन पाल्पाका तैनाथवाला कर्णेल उजिरसिंह थापाले भगवती मन्दिर निर्माण गरी सिन्दूरजात्रा गर्ने भाकल पूरा गरेको इतिहास छ। युद्धमा जानुअघि उनले देवी भगवतीको चरण छोएर विजय प्राप्त भए मन्दिर निर्माण गर्ने र भगवतीको महिमा फैलाउने भाकल गरेको बताइन्छ।

उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले जितगढी क्षेत्रमा अङ्ग्रेज सेनाविरुद्ध दुई पटक युद्ध लडेर विजय हासिल गरेको इतिहास छ। विजयपछि उनले विसं १८७२ देखि १८७६ सम्म ठूलो गजुरसहितको तीनतले भगवती मन्दिर निर्माण गरेका थिए। मन्दिर निर्माण सम्पन्न भएपछि विजयको स्मरणमा रथयात्रा निकाल्ने परम्परा सुरु भएको हो। विसं १८७७ देखि भाद्र कृष्ण नवमीका दिन नियमित रूपमा भगवती रथयात्रा निकालिँदै आएको बताइन्छ। यही ऐतिहासिक पृष्ठभूमिका कारण भगवती मन्दिर ‘रणउजिरेश्वरी भगवती’का रूपमा समेत परिचित छ ।

संस्कृतिविद् निर्मल श्रेष्ठले भगवती रथजात्रा पाल्पाको मात्र नभई नेपालको राष्ट्रिय इतिहाससँग जोडिएको पर्व भएकाले यसको संरक्षण र प्रवद्र्धनमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए। “भगवती रथजात्रा नेपालीको राष्ट्रियता र नागरिकको भावनासँग गाँसिएको पर्व हो,” उनले भने, “यो नेपाली सेनाको वीरता र स्वाधीनताको प्रतीकसमेत भएकाले केन्द्र सरकारले नै राष्ट्रिय विजयोत्सवका रूपमा मनाउने वातावरण बनाउनुपर्छ।” भगवती रथजात्राका अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदा दिँदै आएको छ।

यस वर्षको रथयात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश सभामुख तुलाराम घर्तीमगर, वन, वातावरण तथा पर्यटनमन्त्री तुलसीप्रसाद चौधरी, प्रतिनिधिसभा सदस्य माधव थापालगायत जनप्रतिनिधि, नेपाली सेना तथा सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो।
दुई शताब्दीअघि जितगढीमा भएको युद्धमा नेपाली सेनाले हासिल गरेको विजयको सम्झनामा सुरु भएको भगवती रथयात्रा अहिले पाल्पाको प्रमुख सांस्कृतिक पर्वका रूपमा स्थापित भएको छ। जात्राले धार्मिक परम्परासँगै नेपाली सेनाको वीरता र राष्ट्रिय स्वाधीनताको इतिहासलाई निरन्तर स्मरण गराउँदै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय