खाद्य स्वच्छता र गुणस्तरमा कडाइ तीव्र

पाल्पा । नागरिकको स्वास्थ्य सुरक्षा तथा स्वच्छ र गुणस्तरीय खाद्य पदार्थको पहुँच सुनिश्चित गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तानसेन पाल्पाले आफ्नो कार्यक्षेत्र (पाल्पा र गुल्मी जिल्ला) मा अनुगमन, सचेतना र कानुनी कारबाहीलाई तीव्र पारेको जनाएको छ । कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन अनुसार अनुगमनका क्रममा खाद्य स्वच्छता मिच्ने व्यापारी तथा उद्योगीहरूमाथि कारबाही, जरिवाना र सचेत बनाउने काम गरिएको कार्यालयले जनाएको छ ।

पछिल्लो समय कार्यालय आफै वा जिल्लाका अन्य निकायसंगको समन्वयमा बजार अनुगमनलाई तीव्रता दिएको कार्यालयका प्रमुख नरेश श्रेष्ठले बताउनुभयो । उहाँले अनुगमनका क्रममा अखाद्य, म्याद गुज्रेका तथा न्यूनस्तरका खाद्य सामाग्रीहरू जफत गरी नष्ट गरिएको छ । गत आर्थिक वर्षमा पाल्पाको तानसेन, रामपुर, पूर्वखोला, बगनासकाली, रिब्दीकोट, तिनाउ लगायतका क्षेत्रहरूबाट दुई लाख ७४ हजार ८२० बराबरको गुणस्तरहीन खाद्य पदार्थ जफत नष्ट गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तैगरी तानसेनका डेरीहरूबाट संकलित दूधको नमुना परीक्षण गर्दा न्यूनगुणस्तर पाइएका पाँच वटा डेरी फर्महरूलाई जिल्ला प्रशासन कार्यालयमार्फत जनही ५ हजार जरिवाना गरिएको छ । साथै बिना लेबल घिउ बिक्री गर्ने व्यापारीलाई तानसेन नगरपालिका १२ हजार जरिवाना गरी ३८ केजी अखाद्य घिउ जफत गरी नष्ट गरिएको उहाँले बताउनुभयो ।

यसका साथै न्यूनस्तरको टोमाटो केचप उत्पादन तथा बिक्री गर्ने पैचो पसल प्रा.लि. गुल्मी विरुद्ध जिल्ला प्रशासन कार्यालय गुल्मीमा दायर गरिएको मुद्दामा ५० हजार जरिवाना गराउन कार्यालय सफल भएको छ । हालसम्म कुल १४ वटा मुद्दामध्ये ६ वटा अनुसन्धान र कारबाहीको प्रक्रियामा रहेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

उहाँले सर्वसाधारण नागरिकलाई खाद्य सामाग्री खरिद गर्दा लेबल, उत्पादन मिति र उपभोग्य मिति अनिवार्य रूपमा हेर्न अनुरोध गर्नुभएको छ । मिठाई उत्पादन गर्दा हाइड्रो तथा अखाद्य रंग प्रयोग नगर्न, काँचो र पाकेको खाद्य वस्तु छुट्टाछुट्टै राख्न र म्याद गुज्रेका वस्तु छुट्टै भण्डारण गरी राख्न व्यवसायीहरूलाई निर्देशन दिइएको प्रमुख श्रेष्ठले बताउनुभयो ।

यसका साथै कार्यालयले उपभोक्तामा सचेतना जगाउन विद्यालय स्तरीय खाद्य पोषण सचेतना कार्यक्रम, होमस्टे तथा होटल व्यवसायीहरूलाई खाद्य स्वच्छता तालिम, र सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गरिएको जनाएको छ । नियमित अनुगमनका कारण उत्पादक, वितरक र उपभोक्तामा खाद्य स्वच्छतासम्बन्धी ज्ञान बढेको र अखाद्य वस्तुबारे समयमै उजुरी दिने परिपाटीमा सुधार आएको कार्यालयले जनाएको छ । वर्षभरिमा १०२ खाद्य नमुना र ९१ स्वच्छता सर्भिलेन्स नमुना संकलन गरी गुणस्तर परीक्षण गरिएको छ ।

यसका साथै एक कर्मचारीले दुई जिल्ला हेर्नुपर्ने, आवश्यक कार्यविधिको अभावका साथै स्वीकृत दरबन्दी अनुसार कर्मचारी र प्राविधिक सहायकहरू नहुँदा कार्यसम्पादनमा कठिनाइ भएको प्रमुख श्रेष्ठको भनाइ छ ।

मिति २०८३ भदौ १८ गते बिहीबार करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)

सम्बन्धित खवर