
पाल्पा । जिल्लामा किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यका साथ नियमित ‘एच.पि.भी.’ खोप अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लाका दश स्थानीय तहमा दुई चरण गरी खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
अभियानलाई प्रभावकारी बनाउन पहिलो चरणअन्तर्गत तानसेनमा भदौं १५ गतेदेखि र रैनादेवी छहरा, रिब्दीकोट, तानसेन, बगनासकाली र माथागढी गाउँपालिकामा भदौ १६ गतेदेखि खोप सञ्चालन गरिएको छ । त्यस्तै, दोस्रो चरण अन्तर्गत तिनाउ, रम्भा, पूर्वखोला, निस्दी गाउँपालिका र रामपुर नगरपालिकामा भदौ २२ गतेदेखि भदौ मसान्तसम्म खोप अभियान सञ्चालन हुने कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिनुभयो ।
अभियानअन्तर्गत पाल्पाका कक्षा ६ मा अध्ययनरत १ हजार ९ सय ४८ जना छात्रा र विद्यालय बाहिर रहेका १० वर्षका ३ जना गरी कुल १ हजार ९ सय ५१ जना किशोरीहरूलाई खोप दिने लक्ष्य राखिएको वरिष्ठ क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले बताउनुभयो । खोप सञ्चालनका लागि १ सय ९४ सामुदायिक र ३६ संस्थागत गरी कुल २ सय ३० वटा विद्यालयहरूमा खोप केन्द्र स्थापना गरिएको उहाँको भनाइ छ । यदि तोकिएको समयमा विद्यालयमा खोप लगाउन छुट भएमा नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउन सकिने व्यवस्था मिलाइएको छ । प्रत्येक खोप केन्द्रमा २ जना स्वास्थ्यकर्मी र १ जना स्वयंसेवक परिचालन हुने सूचना अधिकारी मधुसूदन भट्टराईले बताउनुभयो ।
खोप अभियानबाट रामपुरमा ४२२, पूर्वखोलामा १२२, रम्भामा १२७, बगनासकालीमा ७५, तानसेनमा ४४०, रिब्दीकोटमा १०६, रैनादेवी छहरामा १९२, तिनाउमा १६२, माथागढीमा १८६ र निस्दीमा ११९ जना किशोरीहरू लाभान्वित हुने सूचना अधिकारी भट्टराईको भनाइ छ । उहाँले पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्न यो खोप अत्यन्तै प्रभावकारी मानिएकाले तोकिएको समयमा आफ्ना बालबालिकाहरूलाई खोप लगाउन आग्रह समेत गर्नुभयो ।







