भवन अभावमा पाल्पा अस्पतालको सेवा अस्तव्यस्त

तानसेन । पाल्पा अस्पतालको नयाँ भवन निर्माण हुन नसक्दा अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी र गुणस्तरीय बन्न सकेको छैन । अस्पताल भवनका लागि आवश्यक जग्गा व्यवस्थापन हुन नसक्दा सेवा प्रभाव अस्तव्यस्त बनेको हो ।

पछिल्लो दश वर्षयता अस्पतालको नयाँ भवन निर्माणका लागि जग्गाको खोजी गरिरहेको भए पनि हालसम्म अस्पतालले आवश्यक जग्गा प्राप्त गर्न सकेको छैन । अस्पताल विकास समितिले पटक–पटक जग्गा खोजी गर्ने उद्देश्यले सर्वपक्षीय बैठक तथा छलफल गर्दै आएको छ । तर, हालसम्म पनि जग्गाको टुङ्गो लाग्न नसक्दा अस्पतालमा उपचारका लागि आउने बिरामीले सहज र प्रभावकारी स्वास्थ्य सेवा पाउन कठिनाइ भोग्दै आएका छन् ।

पुरानो भवनमा पर्याप्त स्थान नहुँदा तीन जना चिकित्सक एउटै कोठामा बसेर बिरामीको उपचार गर्न बाध्य छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शान्तबहादुर रोकामगरले पूर्वाधार अभावका कारण चिकित्सकले चाहेजस्तो सेवा दिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘साँघुरो कोठाबाट बिरामीलाई सेवा दिनुपर्दा बिरामीको गोपनीयता पनि कायम गर्न सकिएको छैन । एउटा बिरामीको रोग अर्को बिरामीमा सर्ने सम्भावना पनि बढी रहन्छ ।’ अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध भए पनि आवश्यक पूर्वाधारको अभावले सोचेजस्तो सेवा दिन नसकिएको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले ५० शय्याको अस्पतालका रुपमा विकास गर्ने निर्णय गरेको भएपनि अहिलेसम्म पुरानो भवनमा १५ शय्या मात्र रहेको छ । पुरानो भवन भएकाले कतिपय स्थानमा पानी चुहिने समस्या रहेको अस्पतालले जनाएको छ । भवनमा नयाँ वायरिङ गर्न नमिल्ने तथा पंखा र एसी जडान गर्नसमेत समस्या रहेको छ । पर्याप्त कोठा नहुँदा अस्पतालले टहराबाट समेत सेवा सञ्चालन गर्नुपर्ने अवस्था रहेको छ । यहाँ १० जना विशेषज्ञ चिकित्सकसहित १६ जना चिकित्सकको दरबन्दी भए पनि हाल पाँच जना विशेषज्ञसहित ११ जना चिकित्सक कार्यरत छन् । अस्पतालमा पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँचीलगायत जिल्लाबाट दैनिक चार सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

बिरामीको चाप बढी हुँदा औषधि लिन, टिकट काट्न, प्रयोगशाला सेवा लिन तथा अन्य स्वास्थ्य सेवा प्राप्त गर्नसमेत समस्या हुने गरेको सेवाग्राहीको गुनासो छ । अस्पतालको भवन साँघुरो भएकाले कतिपय बिरामीले पेटी तथा भुइँमा बसेर सेवा लिनुपर्ने बाध्यता रहेको पत्रकार रेखीराम रानाले बताउनुभयो ।
मापदण्ड अनुसार अस्पताल भवन निर्माणका लागि १२ रोपनी जग्गा आवश्यक पर्ने भए पनि अस्पतालको नाममा हाल आठ रोपनी तीन आना जग्गा रहेकोले थप जग्गा व्यवस्थापनका लागि अस्पतालले निरन्तर छलफल गर्दै आएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्माचार्यले बताउनुभयो ।

(मिति २०८३ भदौं १५ गतेको करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रशाकित समाचार)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय