
भैरवस्थान । पाल्पा रिब्दिकोट गाउँपालिका–४ हटियाकी उद्यमी डिला सिङजालीले स्थानीयस्तरमा खेर गइरहेका थाकलको पात र मकैको पोस्करलाई प्रयोग गरी आकर्षक हस्तकलाका सामग्री निर्माण गरेर राम्रो आम्दानी गर्नुभएको छ ।
आफ्नै घरआँगन र वरपर सहजै पाइने प्राकृतिक कच्चा पदार्थको रचनात्मक सदुपयोग गर्दै सिङजालीले विभिन्न डिजाइनका ब्याग, आकर्षक टोपी, गमला तथा सजावटका अन्य सामग्रीहरू बनाएर आम्दानी गर्नुभएको हो । उहाँले उत्पादन गरेका सामग्री पूर्ण रूपमा वातावरणमैत्री र टिकाऊ हुने भएकाले तयार भएका सामग्रीहरूको माग अहिले स्थानीय बजारमा मात्र सीमित नभै देशका प्रमुख शहरहरूसहित विदेशमा समेत पुग्ने गरेको छ ।
घरको कामधन्दा सम्हाल्दै फुर्सदको समयको सही सदुपयोग गरेर उहाँले वार्षिक करिब २ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउनुहुन्छ । “बजारमा माग यति धेरै छ कि मैले एक्लैले माग अनुसारको सामान पु¥याउन नै सकेकी छैन,“ सिंजालीले भन्नुभयो ।
सिंजाली आफू मात्र स्वरोजगार बन्नुभएको छैन उहाँले आफ्नो सीप अन्य महिलाहरूलाई पनि हस्तान्तरण गर्दै आउनुभएको छ । विभिन्न जिल्लाबाट आउने मागका आधारमा उहाँले महिलाहरूलाई हस्तकलाको तालिम दिँदै आएकी बताउनुभयो । उहाँ संग तालिम लिएका धेरै महिलाहरूले पनि सीपको प्रयोग गरी आफैँ सामग्री उत्पादन गरेर आत्मनिर्भर बनेका छन् । मनमा जोस, जाँगर र केही गर्छु भन्ने दृढ इच्छाशक्ति भयो भने आफ्नै ठाउँमा सम्भावनाका ढोकाहरू खोल्न सकिने सिंजालीको अनुभव छ ।
गाउँघरमै पाइने साना र फालिएका वस्तुलाई पनि आम्दानीको स्रोत बनाउन सकिन्छ भन्ने सन्देश सिंजालीको कर्मबाट सिक्ने सकिन्छ । उहाँ जस्ता सिर्जनशील उद्यमीको सिको गर्दै स्थानीय स्रोत–साधनको उपयोग गर्ने हो भने गाउँ–गाउँमा स्वरोजगारको लहर ल्याउन सकिने स्थानीय सरोकारवालाको भनाइ छ ।
(मिति २०८३ भदौं ११ गतेको करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रशाकित समाचार)







