
तानसेन । पाल्पा जिल्लाबाट पशुजन्य उत्पादनको उच्च निर्यात भएको पाइएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाको गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदनको तथ्यांक अनुसार पाल्पामा आयातको तुलनामा निर्यात परिमाण उच्च रहेको देखिएको हो ।
गत आर्थिक वर्षमा जिल्लाभित्र ५३ हजार आठ सय छ मेट्रिक टन दूध उत्पादन भएकोमा पाँच हजार १४४ मेट्रिक टन दूध बाह्य जिल्लामा निर्यात गरिएको छ भने आयात केवल एक सय ४६ मेट्रिक टनमा सीमित रहेको छ । त्यसैगरी १७ हजार आठ सय ७२ हजार गोटा अण्डा उत्पादन भएकोमा तीन हजार ३ सय ३४ दशमलव ४० हजार गोटा अण्डा निर्यात भएको कार्यालयका बरिष्ठ प्राविधिक अधिकृत युवराज ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चौपायातर्फ ८८ हजार दुई सयको संख्यामा रहेका खसी, बोका, बाख्रा र भेडामध्ये ४० हजार दुई सय वटा निर्यात भएको छ । यस्तैगरी बंगुरतर्फ १२ हजार ९७५ उत्पादन भएकोमा चार सय वटा र कुखुरातर्फ छ लाख ८५ हजार पाँच सय संख्यामध्ये एक लाख वटा कुखुरा बाह्य बजारमा निर्यात गरिएको छ । राँगा, पाडा र भैंसीतर्फ १९ हजार तीन सय ९६ उत्पादन भएकोमा तीन सय ४० वटा निर्यात भएको छ भने दुई सय ३५ वटा आयात गरिएको छ । माछातर्फ भने सात दशमलव ७३ मेट्रिक टन उत्पादन भएकोमा चौध मेट्रिक टन आयात भएको अधिकृत ज्ञवालीको भनाइ छ ।
हाल जिल्लामा तीन सय १३ वटा व्यावसायिक बाख्रा फार्म, दुई सय १२ वटा कुखुरा फार्म, एक सय २२ वटा बंगुर फार्म, ६३ वटा गाई फार्म, ५४ वटा भैंसी फार्म, आठ वटा मत्स्य फार्म र दुई वटा कालिज फार्म सञ्चालनमा रहेका छन् । बजार व्यवस्थापन र सेवा प्रवाहका लागि दुई सय ९८ वटा मासु पसल, ३८ वटा एग्रोभेट, १४ वटा डेरी उद्योग र १३ वटा दुग्ध संकलन केन्द्र, ११ वटा दाना पसल, ६ वटा ह्याचरी र चार वटा दुग्ध चिलिङ्ग सेन्टर सञ्चालनमा रहेको विज्ञ केन्द्रले जनाएको छ ।
मिति २०८३ भदौं ११ गतेको करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रशाकित समाचार







