
पाल्पा । नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दी–६, अर्चले, पाल्पाको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले लाल बहादुर बयम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जानुमाया खन्गाहा, सचिवमा अनिल राना र कोषाध्यक्षमा अनुपा राई चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा जोग बहादुर बयम्बु, नर बहादुर सोमै, हेम बहादुर बयम्बु, गुम बहादुर बयम्बु र श्याम बहादुर सिंजाली रहनुभएको छ । अन्य सदस्यहरूमा बिनी सरा बयम्बु, रिता भण्डारी र टुकी सरा बराल रहनुभएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दीका अध्यक्ष केश बहादुर सुनारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा निस्दी गाउँपालिका प्रवक्ता तथा वडा नं. ६ अर्चलेका वडा अध्यक्ष मेख बहादुर सुनारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा संगठनका जिल्ला सचिवालय सदस्यहरू पदम बहादुर थापा, लोक बहादुर थापा, इश्वरी अर्याल लगायतले मन्तव्य राख्नुभएको थियो ।
प्रमुख अतिथि मेख बहादुर सुनारीले शिक्षकहरू समाज परिवर्तनका महत्वपूर्ण संवाहक भएको उल्लेख गर्दै शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा विद्यालयको समग्र विकासमा शिक्षक संगठनले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षकका पेशागत हकहितसँगै विद्यालय र समुदायको शैक्षिक विकासलाई समेत प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्ने अन्य अतिथिहरूले संगठनलाई थप सुदृढ र एकताबद्ध बनाउँदै शिक्षकका पेशागत तथा शैक्षिक सवालमा प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो। उहाँहरूले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिँदै विद्यालयको शैक्षिक उन्नयनमा सहकार्य र समन्वयका साथ अघि बढ्न आग्रह गर्नुभयो ।
अधिवेशनमा अर्चलेमा रहेका विभिन्न विद्यालयमा कार्यरत संगठनमा आबद्ध शिक्षक तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य संगठनका सदस्य लिलाराम राईले दिनुभएको थियो भने सञ्चालन नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दीका सचिव गिम बहादुर जर्घाले गर्नुभएको थियो ।
अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई सहभागीहरूले बधाई तथा शुभकामना व्यक्त गर्दै संगठनले आगामी दिनमा शिक्षकको पेशागत विकास, हकहित संरक्षण र विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरेका छन् ।







