
पाल्पा । जिल्लाका दश स्थानीय तहमध्ये स्वास्थ्य सेवा प्रवाहमा तानसेन नगरपालिका पहिलो देखिएको छ । गत वर्षको कार्यसम्पादन मूल्याङ्कनमा तानसेन नगरपालिका सबैभन्दा बढी अंक प्राप्त गरी पहिलो बनेको स्वास्थ्य कार्यालय पाल्पाका कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न कार्यसम्पादन र सेवा प्रवाहका २८ वटा सूचकहरूको मूल्याङ्कन गर्दा तानसेन नगरपालिकाले ८१ दशमलव ९२ प्रतिशत अंक प्राप्त गरी पहिलो बनेको हो ।
यसैगरी ७२ दशमलव ६४ प्रतिशत अंक प्राप्त गरी रैनादेवी छहरा गाउँपालिका दोस्रो भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले आयोजना गरेको गत आर्थिक वर्ष २०८२÷८३ को जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीको समापन सत्रमा सार्वजनिक गरिएको नतिजामा ७२ दशमलव ३८ प्रतिशत अंक प्राप्त गरी पूर्वखोला गाउँपालिका तेस्रो भएको प्रमुख ढकालले बताउनुभयो ।
गोष्ठीमा लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्यकर्मीहरू जिम्मेवारीसँगै जवाफदेही भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले रोकथाम र प्रवर्धनात्मक क्षेत्रमा स्वास्थ्यकर्मीले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै नागरिकमैत्री सेवालाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । यसका साथै विगतका राम्रा सूचकलाई निरन्तरता दिने र सुधार्नुपर्ने पक्षमा व्यावहारिक योजना बनाएर अगाडि बढ्नुपर्ने पूर्वमन्त्री सारुको भनाइ थियो ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले विगतको तुलनामा जिल्लाको स्वास्थ्य क्षेत्रमा क्रमिक सुधार आएको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीहरूले जागिर खानेमात्र भन्दा नागरिकलाई सहज र सरल रूपमा स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्नका लागि आफूले भोगेका विषय सम्बोधन गर्न नीति बनाउने तहमा आवश्यक पृष्ठपोषण दिनुपर्नेमा जोड दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले गत वर्षको कार्यसम्पादन प्रगतिको समीक्षा गरी चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम कार्यान्वयनको योजना बनाउने अभ्यास सकारात्मक भएको बताउनुभयो । उहाँले सामूहिक रूपमा समीक्षा गर्दा अवसर, चुनौती र समाधानका उपायहरू खोज्न मद्दत गरेको बताउनुभयो । अहिले पनि समाजमा भौतिक विकासलाई मात्र विकास मान्ने प्रचलनले गर्दा समस्या देखिएकोले सामाजिक विकासको क्षेत्रलाई पनि प्राथमिकतामा राखेर काम गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी सेढाईँले बताउनुभयो ।
दुई दिनसम्म चलेको गोष्ठीमा जिल्लाका दश स्थानीय तह, स्वास्थ्य साझेदार संस्था, अस्पतालहरूले गत आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको उपलब्धि, विद्यमान समस्या र चुनौतीहरूको प्रस्तुतिसहित छलफल गरी चालु आर्थिक वर्षको योजनासमेत तयार गरिएको सूचना अधिकारी मधुसुधन भट्टराईले जानकारी दिनुभयो । यसका साथै सोही अवसरमा साझेदार तथा सहयोग संस्थाहरू, दश स्थानीय तह, स्वास्थ्य कार्यालय पाल्पामा लामो समय सेवा गर्नुहुने वरिष्ठ क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपाने, कार्यालय सहायक टीकाराम भाट र तानसेन नगरपालिकाकी सिअनमी अधिकृत भगवती केसीलाई सम्मान गरिएको पब्लिक हेल्थ नर्स शान्ति भण्डारीले जानकारी दिनुभयो ।
(मिति २०८३ साल भदौं ११ गते बिहीबार करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)







