
पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाको सचिवालय बैठक बसेको छ ।
बैठकले चालु आर्थिक वर्ष २०८३/८४ को सदस्यता नविकरणमा भएको प्रगति सार्वजनिक गर्दै केही छुटेका सदस्यहरुको सदस्यता नविकरणका लागि भदौं १५ गतेसम्म समय थप गर्ने निर्णय गरेको छ । यसका साथै बैठकले संगठनको नियमित प्रकाशन चौतारी बुलेटिन प्रकाशन गर्ने, विषयगत रुपमा क्रियाशील पत्रकार सदस्यहरुको क्षमता अभिवृद्धिका लागि तीन दिने फोटो तथा भिडियोग्राफी तालिम सञ्चालन गर्ने, पत्रकार महिलाहरुको क्षमता अभिवृद्धिसहित तीज मिलन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको सचिव दयाराज न्यौपानेले जानकारी दिनुभयो । उहाँले वार्षिक कार्ययोजना अनुसारका कार्यक्रमहरु तोकिएकै समयमा सम्पन्न गर्नका लागि उपाध्यक्ष रीमा सोमै, सहसचिव विजय बौडेल र आफू स्वयमलाई जिम्मेवारी तोकेर कार्यान्वयनमा जाने निर्णय भएको बताउनुभयो ।
बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज मिलन विकले समय अनुसार पत्रकारहरुको क्षमता विकास र संस्थागत अभियानमा संगठनले देखाएको सक्रियता प्रशंसायोग्य रहेको बताउनुभयो । उहाँले पाल्पाली पत्रकारिताको इतिहासमा प्रेस चौतारीको भूमिका महत्वपूर्ण रहेको स्मरणगर्दै रचनात्मक कार्यले संगठन, पाल्पाली पत्रकारितालाई थप उचाईमा पु¥याउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले पत्रकारहरुले समाचार लेख्दा सत्य, तथ्यमा आधारित भएर लेख्नुपर्ने बताउनुभयो । उहाँले एमालेका २३ वटा जनसंगठनहरुमा सक्रिय मध्येको एक प्रेस चौतारी पनि रहेको बताउदै आफ्ना कलमहरु जनजीवीका, अन्याय, विकृती र विसंगतीका विरुद्धमा चलाउन आग्रह गर्नुभयो ।
प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीले प्रेस चौतारी नेपाल पाल्पा विगतदेखिनै श्रमजीवी पत्रकारहरुको हकहितको संरक्षण, स्थानीय मिडियाको सवलीकरणका पक्षमा आवाज उठाउदै आएको संगठन भएको बताउनुभयो । उहाँले यस अभियानमा सबै पक्षले साथ र सहयोग गर्दा मात्र सफलता प्राप्त हुने बताउनुभयो ।







