पाल्पाबाट अर्गानिक बाली निर्यातको तयारी

तानसेन । पाल्पाका तीन पालिकामा उत्पादित उच्च मूल्यका मसला बाली तथा गेडागुडी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने उद्देश्यले किसान र कृषि प्राविधिकहरूका लागि तीन दिने अर्गानिक बाली उत्पादन तथा प्रमाणीकरण’ प्रशिक्षक प्रशिक्षण तालिम दिइएको छ । तानसेन नगरपालिका, माथागढी गाउँपालिका र पूर्वखोला गाउँपालिकाका किसान र प्राविधिकलाई लक्षित गरी आयोजना गरिएको तालिम विशेषगरी अर्गानिक खेती प्रणाली प्रवर्धन गर्दै कृषि उपजलाई वैदेशिक बजारसम्म पु¥याएर किसानको आयस्तर उकास्नु रहेको आयोजकको भनाइ थियो ।

कार्यक्रममा आर्थिक तथा प्राविधिक सहयोग गर्ने संस्था सिआरएस नेपालका कार्यक्रम प्रबन्धक प्रचण्ड कट्टेलले विषादीरहित अर्गानिक खेतीमा जोड दिन आग्रह गर्नुभयो । “अहिले बजारमा अधिकांश कृषि उपजमा विषादी प्रयोग भएकाले किसानले उचित मूल्य पाउन सकेका छैनन्,“ उहाँले भन्नुभयो, “नेपालबाट अर्गानिक अदुवा, बेसार, कागुनो र गेडागुडीले वैदेशिक बजारमा राम्रो मूल्य पाउने भएकाले किसानहरू अर्गानिक उत्पादनतर्फ लाग्नुपर्छ ।“

ग्रामीण आर्थिक विकास संघ (रेडा)का कार्यकारी निर्देशक लीला कार्कीले यसै वर्षदेखि पाल्पाबाट अदुवा र गेडागुडी विदेश निर्यात गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तरकारी, अदुवा र गेडागुडी उत्पादन गर्न सकेमा ठूलो बजार पाउने सम्भावना छ । विगतमा मूल्य नपाएर खेर जाने गरेका बालीले अर्गानिक प्रमाणीकरण भएकै कारण अहिले राम्रो मूल्य पाइरहेको कार्यकारी निर्देशक कार्कीको भनाइ थियो ।
तालिमका प्रशिक्षक एवम् सेरेस नेपालका राष्ट्रिय निर्देशक शंकर गुरुङले अर्गानिक उत्पादनको प्रक्रिया र यसको अन्तर्राष्ट्रिय प्रमाणीकरणको प्राविधिक पक्षका सार्थ अमेरिका, जापान र युरोपेली मुलुकहरूको अर्गानिक उत्पादन मापदण्ड अनुसार बाली कसरी तयार पार्ने भन्ने विषयमा किसान र प्राविधिकहरूलाई सहजीकरण गर्नुभएको थियो ।

अर्गानिक बाली उत्पादन तथा प्रमाणीकरण स्पाइसिस कार्यक्रमका संयोजक सन्देश खनालले पाल्पाबाट चालु वर्षदेखि नै अर्गानिक प्रमाणीकरण प्रक्रिया सुरु गरी युरोपमा निर्यातको ढोका खोलिने बताउनुभयो ।

रेडाका फिल्ड अधिकृत निपृ परियारका अनुसार यो वर्ष माथागढीका दुई सयभन्दा बढी किसान अर्गानिक मसला बाली उत्पादनमा सक्रिय रहेको बताउनुभयो । किसानको बाली प्रमाणीकरण, भण्डारण, पूर्वाधार निर्माण र प्राविधिक सहयोगका लागि माथागढी, पूर्वखोला र तानसेन नगरपालिकाले संयुक्त लगानी गर्ने बताइएको छ ।

(मिति २०८३ भदौ ८ गते सोमबार करूवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)

सम्बन्धित खवर