
पाल्पा । बगनासकाली गाउँपालिकाले आन्तरिक राजस्व संकलनमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा एक करोड चार लाख ६१ हजार ६९१ रुपैयाँ आन्तरिक राजस्व संकलन गरेकोमा गत आर्थिक वर्ष २०८२÷८३ मा वृद्धि गरेर एक करोड ३६ लाख ५५ हजार २६४ रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । यसरी अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ३०.५२ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको गत आर्थिक वर्षमा राजस्व संकलन विवरण अनुसार नदीजन्य तथा प्राकृतिक स्रोत शीर्षकको दहत्तर बहत्तर शुल्कबाट सबैभन्दा बढी ५१ लाख ९४ हजार ११२ रुपैयाँ संकलन भएको छ । यसैगरी भूमिकर तथा मालपोतबाट दश लाख ९२ हजार ८४३ रुपैयाँ, सिफारिस दस्तुरबाट दश लाख ८१ हजार ५५० रुपैयाँ, अन्य दस्तुरबाट १२ लाख ११ हजार ३५० रुपैयाँ तथा बहाल करबाट सात लाख ९८ हजार ८५३ रुपैयाँ संकलन भएको लेखा अधिकृत कोशल राज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशासनिक सेवा शुल्कबाट छ लाख १२ हजार ८० रुपैयाँ, व्यक्तिगत घटना दर्ता दस्तुरबाट ६ लाख ४० हजार ५ सय रुपैयाँ, सम्पति करबाट तीन लाख १७ हजार ४६४ रुपैयाँ र प्रशासनिक दण्ड जरिवानाबाट चार लाख १८ हजार २४४ रुपैयाँ राजस्व उठेको छ ।
गाउँपालिका अध्यक्ष सरस्वती चिदीले आन्तरिक राजस्वमा भएको वृद्धिले नागरिकका माग र आवश्यकताहरूलाई समयमै सम्बोधन गर्न ठूलो बल पुगे बताउनुभयो । उहाँले आन्तरिक स्रोत बलियो हुँदा संघीय तथा प्रदेश सरकारको अनुदानमा मात्र निर्भर रहनुपर्ने बाध्यता हट्दै जाने र स्थानीय तहलाई आफ्ना प्राथमिकता अनुसारका विकास योजनाहरू सञ्चालन गर्न वित्तीय स्वायत्तता प्राप्त हुने बताउनुभयो । वृद्धि भएको राजस्वलाई पालिकाभित्रका कृषि, शिक्षा, स्वास्थ्य, ग्रामीण सडक स्तरोन्नति र खानेपानीजस्ता प्रत्यक्ष जनसरोकारका क्षेत्रमा लगानी गर्न सहज हुने अध्यक्ष चिदीको भनाइ छ ।
यस्तै, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले करको दायरा विस्तार र कर भुक्तानी प्रक्रियालाई सहज र पारदर्शी बनाउँदा राजस्व संकलनमा वृद्धि भएको बताउनुभयो । उहाँले आर्थिक अनुशासन, बजेट व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा गाउँपालिकाले विशेष ध्यान दिएका कारण यो उपलब्धि प्राप्त भएको बताउनुभयो । आगामी दिनमा पनि करदातालाई सहजीकरण गर्दै आन्तरिक स्रोत अझ सुदृढ बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ । आन्तरिक राजस्वको वृद्धिले गाउँपालिकालाई आत्मनिर्भर र समृद्ध स्थानीय सरकारका रूपमा अगाडि बढाउनका लागि आवश्यक योजनाहरु सञ्चालनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको गाउँपालिका प्रवक्ता टीकाबहादुर थापाले बताउनुभयो ।
(मिति २०८३ भदाै ८ गते साेमबार करूवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)








