लायन्स क्लबद्वारा ह्विलचियर, विज्ञान सामग्री हस्तान्तरण

पाल्पा । सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै लायन्स क्लब अफ पाल्पा रानीमहलले तानसेन नगरपालिका–९ दमकडामा एकैसाथ तीन सामाजिक सेवाका कार्यक्रम सम्पन्न गरेको छ । क्लबले अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर हस्तान्तरण, दमकडा माध्यमिक विद्यालयलाई विज्ञान सामग्री तथा पुस्तक प्रदान गर्नुका साथै दृष्टिविहीन विद्यार्थीलाई भोजन गराएको हो ।

क्लबले तानसेन–९ दमकडा निवासी रामबहादुर कुमाललाई ह्विलचियर हस्तान्तरण गरेको छ । ह्विलचियर प्राप्तिले उहाँको दैनिक जीवन र आवतजावतमा सहजता ल्याउने अपेक्षा गरिएको छ । सो हस्तान्तरण कार्यक्रममा एम्बेस्डर अफ गभर्नर गंगाबहादुर खत्री, तानसेन नगरपालिका–९ का वडाध्यक्ष राजेशकुमार अर्याल, एरिया चिफ सुरेश भट्टराई, तथा कार्यक्रम संयोजक जीवन पाण्डेलगायतको उपस्थिति थियो । कार्यक्रमका सहभागी अतिथिहरूले समाजका वास्तविक आवश्यकता र समस्या पहिचान गरी सहयोग पु¥याउनु नै सच्चा मानवीय सेवा भएको बताउनुभयो ।

यसैगरी, दमकडा माध्यमिक विद्यालयको विज्ञान प्रयोगशालालाई थप व्यवस्थित र प्रयोगात्मक बनाउन क्लबले विज्ञान सामग्री तथा पुस्तकहरू हस्तान्तरण गरेको छ । कार्यक्रम संयोजक गुराँस आत्रेयका अनुसार विद्यार्थीको सिकाइलाई व्यवहारिक बनाउन सामग्री उपलब्ध गराइएको हो । विज्ञान सामग्री माथागढी ३ का वडाध्यक्ष तेज घर्तीमगर तथा अल्फा आईटी, तानसेनको सहयोगमा प्राप्त भएको थियो भने विद्यार्थीको अध्ययन अभिवृद्धिका लागि जीवन पाण्डेले पुस्तक सहयोग गर्नुभएको थियो । साथै, वैदिक पूजा सामग्री पाल्पाले समेत आवश्यक सामग्री उपलब्ध गराएको छ ।

यस्तै, कार्यक्रममा क्लबका सदस्य कृष्णप्रसाद भट्टराईले आफ्नो जन्मदिनको अवसरमा दमकडा माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई भोजन गराउनुभएको छ । फजुल खर्च र तडकभडकभन्दा फरक ढंगले व्यक्तिगत उत्सवलाई सामाजिक सेवासँग जोड्दै हिसावले भोजन गराएको भट्टराईको भनाइ छ ।

तीनवटै कार्यक्रमको अध्यक्षता गर्नुभएका लायन्स क्लब अफ पाल्पा रानीमहल अध्यक्ष करूणा काफ्लेले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, अपाङ्गता र मानवीय सेवाका क्षेत्रमा सहयोगी हातहरूसँग सहकार्य गर्दै सेवा अभियानलाई प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालयका प्रद्यानाध्यापक मोहनप्रसाद सापकोटाले क्लबले विद्यालयमा गरेको सहयोगप्रति आभार प्रर्कट गर्दै आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो ।

(मिति २०८३ भदौं ४ गते करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय